सर्लाही – सर्लाहीका शिक्षक सङ्घ, सङ्गठनले बलरास्थित एक विद्यालयका प्रधानाध्यापलाई अर्धनग्न पारेर निर्घात कुटपिट गर्नेविरुद्ध कारवाही गर्न माग गरेका छन् । बलरा नगरपालिका– ४, मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि गएको सोमबार दिउँसो विद्यार्थीसहितका व्यक्तिहरुले शरीरको कपडा च्यातच्यूत पारेर लछारपछार पारी कुटपिट गरेका थिए । प्रधानाध्यापक झाले छात्रालाई अशभ्य शब्द प्रयोग गरेको आरोप लगाइएको छ ।
सोही आरोपमा प्रधानाध्यापक झामाथि कुटपिट गर्नुका साथै उहाँले निजी कारमा समेत तोडफोड गरेर क्षति पु¥याइएको थियो । उक्त घटनाको विषयलाई लिएर नेपाल शिक्षक महासङ्घ सर्लाहीसहित अन्य शिक्षक सङ्घसङ्गठनले प्रेस विज्ञप्ती जारी गरी प्रधानाध्यापक झामाथि भएको अमानविय व्यवहारप्रति घोर भत्र्सना गर्दै घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन् ।
प्रधानाध्यापक झालाई दुव्र्यवहार गर्नेमाथि भदौ २२ गतेभित्र कडाभन्दा कडा कारवाही नभएको खण्डमा सर्लाही जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द र अन्य शैक्षिक गतिविधिमा पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षहरुले स्वयं लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल शिक्षक महासङ्घ सर्लाहीका अध्यक्ष प्रवीणकुमार पासवान, पानको केन्द्रीय सदस्य विनिताकुमारी साह, नेपाल विद्यालय कर्मचारी परिषद् सर्लाहीका अध्यक्ष नारायणप्रसाद यादव, नेपाल शिक्षक सङ्घ सर्लाहीका अर्थ सचिव नागेन्द्रप्रसाद यादव, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सर्लाहीका सदस्य वीरेन्द्र राय यादव र प्रधानाध्यापक सङ्घ सर्लाहीका अध्यक्ष रामकिशोर महतोले प्रेस विज्ञप्ति जारी गरी प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनाका दोषीलाई कारवाहीको माग गरिएको हो ।
शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीसँग समेत भेट गरी घटनाबारे ध्यानाकर्षण गराएका छन् । सर्लाही प्रहरीले सो घटनामा संलग्न रहेकामध्ये बलरा नगरपालिका–२, बस्ने २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रधानाध्यापक झाले भने आफूले कुनै पनि छात्रामाथि अशम्भ शब्द प्रयोग नगरेको दावी गर्नुभएको छ ।















