वीरगन्ज,वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस फेरी विवादमा तानिएको छ । चैतमा स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनलाई लिएर विवादित बनेको क्याम्पसमा यसपटक कर्मचारी नियुक्तिको विषयलाई लिएर विवाद सुरु भएको छ ।विवादका कारण कर्मचारीहरुले आन्दोलन गर्दै क्याम्पस प्रमुखको कोठालगायत केही शाखाहरुमा सोमवार तालाबन्दी गरेर धर्ना दिएका छन् । क्याम्पसस्थित पुस्तकालयका शाखाका प्रमुख किशोरीप्रसाद चौधरीले आफ्नी श्रीमती गनेशामाया शाहीलाई प्रक्रिया मिचेर स्वयमसेवकमा नियुक्ति दिएपछि आंसिक कर्मचारीहरुले आन्दोलन गर्दै तालाबन्दी गरेका हुन् ।कर्मचारीहरुकाअनुसार चौधरीले प्रक्रियालाई लत्याउँदै आफ्नी श्रीमतीलाई नियुक्ति दिएका छन् । आन्दोलनरत कर्मचारी मनोहर साह कानुका अनुसार कुनै पनि प्रक्रियाको पालन नगरी चौधरीले सोझै श्रीमतीलाई आफै कार्यरत शाखामा नियुक्ति दिएका हुन । शाहीलाई चैत १४ गते पुस्तकालयको स्वयम् सेवाममा नियुक्त गरिएको छ । उनी आइतबारदेखि नियमित हाजिरी गरेर कार्यालय आइरहेकी छन् ।आन्दोलनको नेतृत्व गरिरहेकी सङ्घकी अध्यक्ष गीता श्रेष्ठले नियुक्ति गर्दा वर्षौंदेखि आंसिक सेवामा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । चौधरीले भने नियुक्ति नियमसङ्गत भएको दावी गरेका छन । रजिस्ट्रारको कार्यालयसँग अनुमति लिएर क्याम्पस व्यवस्थापन समितिको बैठकले पारित गरेपछि नियुक्ति भएको उनले बताए ।