निजगढ,निजगढ नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र मनोनयन दर्ता गर्नुभएका नेकपा एमालेका नेता एकबहादुर श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । श्रेष्ठले आइतवार विज्ञप्ति निकालेर आफूले उम्मेदवारी फिर्ता लिएको र निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सक्रिय हुने बताउनुभएको हो ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहनुभएका श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीका नेतागण, स्थानीय कार्यकर्ता, शुभचिन्तक र मनोनय पत्र दर्ता गर्ने क्रममा प्रस्तावक र समर्थक बसेका कार्यकर्ताहरुको समेत सल्लाह र आग्रहमा उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताउनुभएको छ ।
‘निजगढ नगरपालिकको नगर प्रमुख पदमा एमालेका सुरथ पुरी लगायत सबै पदमा पार्टीका उम्मेदवारहरुलाई विजयी तुल्याउन सक्रियताका साथ लागि पर्ने जानकारी पनि गराउन चाहन्छु, विज्ञप्तिमा श्रेष्ठले भन्नुभएको छ, आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी पार्टीका उम्मेदवारहरुलाई विजयी तुल्याउन पार्टीका शुभचिन्तक र आम मतदाताहरुमासमेत हार्दिक अनुरोध गर्दछु ।’
विज्ञप्तिमा श्रेष्ठका प्रस्तावक नेकपा एमाले निजगढ नगर कमिटी सचिवालय सदस्य मानबहादुर श्रेष्ठ र समर्थकमा एमालेको निजगढ वडा नम्बर ७ योजना टोल कमिटी अध्यक्ष दिलबहादुर श्रेष्ठ पनि हस्ताक्षर गर्नुभएको छ ।
स्थानीयत तह निर्वाचनमा पार्टीको तर्फबाट नगर प्रमुख पदको आकांक्षी रहनुभएका नेता श्रेष्ठ टिकट नपाएपछि असन्तुष्ट बन्नुभएको थियो । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र अच्युत मैनालीले श्रेष्ठसंग पटकपटक भेटवार्ता गर्नुभएको थियो । श्रेष्ठको उम्मेदवारी फिर्तासंगै निजगढमा एमाले कार्यकर्ता पङ्गतिमा उत्साह बढेको छ ।
साविक निजगढ गाविसका अध्यक्षसमेत रहनुभएका श्रेष्ठ इमान्दार र सदाचारी नेताको रुपमा परिचति हुनुहुन्छ ।
निजगढमा कांग्रेसको आधिकारिक उम्मेदवार नै बागी
निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ मा कांग्रेश र माओवादी गठबन्धनविरुद्ध कांग्रेशका बागी उम्मेदवारले रुख चिन्ह पाएका छन । वडा अध्यक्ष उम्मेदवार सुमन लामा र खुल्ला सदस्यतर्फ नारायण अधिकारी, सेरब छोइगेल लामा (मनिष) महिला सदस्यमा लामा र दलित महिला सदस्यतर्फ पम्फा विश्वकर्माले रुख चिन्ह पाएका हुन ।
स्थानीय तहको गठबन्धनमा सो वडाको वडा अध्यक्ष माओवादीलाई दिने सहमति भएको थियो । सहमति अनुसार माओवादीका मोहन डिसीले वडा अध्यक्षमा मनोनयन गर्नुभएको हो । गठबन्धनको सहमतिमा नेपाली कांग्रेशको भागमा २ खुल्ला सदस्य र दलित महिला सदस्यसहित ३ जना सदस्य परेको उनीहरु सबैले माओवादीको चुनाव चिन्ह हसिया हतौडा लिएर चुनाव लडेको सदस्य पदकी उम्मेदवार चन्द्रिका मगरले बताउनुभयो । उहाँले पार्टीको निर्णय विपरित लामाले पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएको पनि बताउनुभयो ।
तर सुमन लामाले गठबन्धनमा भएको सहमतिको विरोध गर्दै कांग्रेस पार्टीको टिकटबाट उम्मेदवारी दर्ता गराएपछि वडा नम्बर ७ नेपाली कांग्रेशका मतदाताहरु अन्यौलमा परेका छन । लामाले पार्टीको मधेस प्रदेश समितिबाट टिकट ल्यायर मनोनयन पत्र दर्ता गर्नुभएको हो ।
वडा अध्यक्षका उम्मेदवार सुमनले आफू नेपाली कांग्रेशको आधिकारिक उम्मेदवार भएको भन्दै उम्मेदवारी फिर्ता नलिने र आफ्नो प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न मतदातासंग आग्रह गर्नुभएको छ ।