वीरगन्ज,पर्सा जिल्लामा बैशाख १६ गते देखि बुधबार सम्म एक साताका लागि लगाइएको निषेधाज्ञा थप ८ दिनका लागि थप हुने भएको छ ।मंगलबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसीको बैठकले बैशाख २२ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा बैशाख ३० गते मध्यराति १२ बजे सम्मका लागि थप्ने सिफारिस गरेको हो । पर्सामा कारोना संक्रमण र त्यसबाट हुने मृत्यु दर अप्रत्याशीत रुपमा बढ्दै गएपछि त्यसलाइ रोक्न स्थानीय प्रशासनले बैशाख १६ देखि बुधबार बुधबार बैशाख २२ गते मध्यरात १२ बजे सम्मका लागि निषेधाज्ञा लगाएको छ । संक्रमण नियन्त्रणमा निषेधाज्ञा उपयोगी देखिएकाले बैशाख ३० गते सम्मका लागि निषेधाज्ञा थप्न , डिसिएमसीको बैठकले प्रमुख जिल्ला अधिकारीलाइ सिफारिस गरेको हो ।
अपरान्ह बसेको डिसिएमसीको बैठकले बैशाख ३० गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा थप्ने सिफारिस गरेको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।डिसिएमसीको सिफारिस अनुसार , प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपिएको सम्बन्धि सुचना बुधबार जारी गर्ने पौडेलले जानकारी दिनुभयो ।यस्तै मंगलबार बसेको डिसिएमसीको बैठकले पर्सा जिल्लामा रहेका सबै अक्सीजन उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्नका लागि पनि अनुरोध गरेको छ ।यसका साथै पर्सा जिल्लामा उत्पादित अक्सीजन, जिल्ला बाहिर आपूर्ति नगर्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।यस्तै कोभिड संक्रमितहरुको उपचारका लागि वीरगन्ज महानगरपालिकाले एक सय शैयाको अस्थायी कोभिड अस्पताल तत्काल संचालनमा ल्याउने र महानगरपालिकाले नै एक सय शैयाको आइसोलेशन पनि संचालन गर्ने निर्णय डिसिएमसीको बैठकले गरेको छ ।बैठकले वीरगन्ज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरि त्यहिबाट स्वाब संकलन गरी परिक्षणका लागि नारायणी अस्पतालमा पठाउने निर्णय पनि गरेको छ ।यस्तै नारायणी अस्पतालमा करारमा कार्यरत डा. राजिव यादव र नन्दन कुमार सिंहको करार अवधि बढीमा ४ महिना थप गर्ने निर्णय गरेको पनि सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।