पुष्पराज खतिवडा
मनहर्वा,
पथलैया– अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार नजिक बुधवार ट्रक र बोलेरो पिकअप एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने सोही दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप बिहान ५ बजेको समयमा आदाभार नजिकको जंगलमा ठोक्किएका हुन । मृत्यु हुनेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर ९ कोल्नी बस्ने ३० वर्षका सुजन मगराती र भारत मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुरका करिब २८ वर्षीय चन्दन चौहान रहेका छन् ।
मगराती बोलेरोका चालक हुन् । दुबैजनाको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा बिहान सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाइते चारै जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।घाइतेमध्ये तीन जना भारतीय नागरिक हुन् । अर्का एकजना ट्रकका चालक बारा परवानिपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरका ३० वर्षका रवि पटेल छन् । चालक पटेलको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।यस्तै मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा बुधवार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका– ४ ज्वालादेवीतर्फ आउने क्रममा ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको थियो । घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ ।















