कलैया,सुवर्ण गाउँपालिकामा एक प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर सोमबार भएको हिंसात्मक तोडफोडमा साढे तीन करोड भन्दा बढीको क्षति भएको अनुमान छ ।गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले प्रहरीको प्रारम्भिक अनुमान अनुसार साढे तीन करोड भन्दा बढीको क्षति पुगेको बताउनुभयो ।गत ३ गते गाउँ शिक्षा समिति बैठकले दुई जना प्रधानाध्यापक र सात जना शिक्षकहरुको सरुवा गर्ने निर्णय गरेको थियो । तर त्यहि सरुवा भएकाहरु मध्ये नेरा मावि हर्दिया औरहियाका प्रधानाध्यापक रामएकवाल प्रसादको सरुवाको विषयलाई लिएर पालिकाको कार्यालय तोडफोड भएको हो । प्रधानाध्यापक सरुवा हुन नचाहिरहेको तर उनलाई सम्झाइ बुझाइ गरेपछि सरुवाको पत्र बुझेर गएको तर उनैको उक्साहटमा यो घटना घटेको पालिकाले जनाएको छ ।सोमबार साढे सात बजेतिर विद्यार्थीलाई साथ लिएर अराजक व्यक्तिहरुले तोडफोड गरेको पालिका अध्यक्ष यादवले बताउनुभयो ।घटना पश्चात पालिकाले आपतकालीन बैठक बसेर प्रधानाध्यापक माथि आवश्यक छानबिन गर्नुको साथै घटनाको विषयमा छानबिन गर्ने र दोषी माथि कडा कारबाही गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।तोडफोडमा संलग्नहरु छलफल अथवा केही गर्ने भन्दा पनि तोडफोड गर्ने उद्देश्यले नै गएको देखिएको शिक्षा शाखा प्रमुख विद्यानाथप्रसाद यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुको उद्देश्य नै तोडफोड गर्ने देखिन्छ । किनभने कार्यालय समय खुल्न अघि सबै तोडफोड भएको छ ।’विद्यार्थीले तोडफोड गरेको भनिए अथवा विद्यार्थीको सहभागिता देखिए पनि अरु नै अराजक व्यक्तिहरुको सहभागिता भएको उहाँको भनाइ छ ।उनीहरुले पालिकामा ढुंगामुढा गर्नुको साथै कुर्सी, टेबल, कम्प्युटर, ढोका, जेसीबी, कर्मचारीहरुको मोटरसाइकल तोडफोड तथा आगजनी गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रण गर्नका लागि अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । पालिका अध्यक्ष यादव विद्यार्थीको आवरणमा राजनीतिक भएको बताउनुहुन्छ । उहाँले विद्यार्थीको नाममा राजनीतिक भएको र अरु नै व्यक्तिहरुले अराजक गतिविधि गरेको बताउनुभयो । तोडफोडपछि पालिका कार्यालय खुला भए पनि टेबल, कुर्सी, कम्प्युटर लगायत तोडफोड भएकोले पालिकाको सम्पूर्ण सेवा प्रवाह प्रभावित भएको छ ।

Leave a Reply