पुष्पराज खतिवडा

मनहर्वा,सिमरामा बुधवारबाट संचालन हुने दोस्रो अन्तर्राष्ट्रिय मन्जु देवी भेट्रान कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मंगलबार साँझ सिमरा रंगशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी बारे जानकारी दिइएको हो ।

भाद्र २९ देखि १ असोजसम्म संचालन हुने प्रतियोगिताको श्रम तथा रोजगार पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले बुधबार अपराहन्न २ बजे सिमरा रंगशालामा उद्धाटन गर्ने कार्यक्रम तय भएको छ । पूर्वमन्त्री श्रेष्ठले प्रतियोगिता सफल पार्न संसदबाट प्राप्त हुने एक महिनाको तलब रकम सहयोग गर्ने घोषण गर्नु भएको सो अवसरमा जानकारी दिइएको थियो । यस्तै फुटबल, नेटजाली लगायतका थुप्रै खेल सामाग्री समेत सहयोग गर्नु भएको सिमरा भेट्रान क्लबका सदस्य एवं प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी गराउनुभयो ।बुधवारको उद्धाटन खेल आयोजक सिमरा भेट्रान क्लब र बागमती भेट्रानबीच हुने प्रतियोगिता संयोजक चौधरीले जानकारी दिनुभयो । दोस्रो खेल भने नागसोती भेट्रान हेटौंडा र चितवन भेट्रान चितवनका बीच हुने बताइएको छ । यस्तै बुधबारबाट दैनिक ४ वटा खेलहरु हुने छन् । ती खेलहरु मध्ये दुईवटा बिहान ८ बजे र साँझ ४ बजेबाट खेलाइने छ । खेल जम्मा ५० मिनटको हुने र खेल हेर्न दर्शकहरुले कुनै किसिमको शुल्क तिर्नु नपर्ने संयोजक चौधरीले बताउनुभयो ।

प्रतियोगितामा चितवन, पर्सा, बारा, काठमाडौ, पोखरा, वीरगन्जं, काठमाण्डौं, मोरङ्ग, हेटौंडा, मकवानपुर, नवलपरासीका गरी १४ नेपाली र दार्जिलिङ्ग र कोलकत्ताको समेत गरी जम्मा १६ वटा टिम सहभागी हुने संयोजक चौधरीले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने टिमहरुमा बागमती भेट्रान, भेट्रान सिटी वीरगन्जं, भुटनदेवी भेट्रान, वीरगन्जंं सिटी भेट्रान, कालभैरव भेट्रान हेटौंडा, मोरङ्ग भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौंडा छन् ।

यसैगरी चितवन भेट्रान, वीरगन्जंं युथ एकेडेमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलीसेन्ट भेट्रान पोखरा दार्जिलिङ्ग भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बि प्रतियोगिता सहभागी हुने प्रतियोगिता संयोजक चौधरीले जानकारी दिनुभयो ।

भेट्रान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक टिमबाट गोलकिपर सहित ८ जना खेलाडीले खेल्ने छन् । प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार नगद र ट्रफी पुरस्कार प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले ७५ हजार रुपैंया र ट्रफी पाउने छन् ।

खेलमा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैंयाका दरमा म्यान अफ द म्याच प्रदान गरिने छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय रुपैया प्रदान गरिने सिमरा भेट्रानका राजकपुर राउत (विजय) ले जानकारी दिनुभयो । विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने छ ।

युवा समाजसेवी श्यामबाबु गुप्ताकी ममतामयी माता स्वर्गीय मन्जुदेवी गुप्ताको स्मृतिमा प्रतियोगिता गर्न लागिएको हो । बारा जिल्ला र सिमराको पहिचान प्रवद्र्धन गर्ने उदेश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको भेट्रान अध्यक्ष विजयले जानकारी दिनुभयो । उहाँका अनुसार सिमरामा २०७४ सालमा पहिलो भेट्रान प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave a Reply