वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक मोहम्मद र सोही वर्कशपमा काम गर्ने २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, वैशाख २० गते दिउँसो करिब ३ बजे पीडित (नामथर गोप्य) आफ्नो बाख्रा गोठबाट बाख्राहरू बाँधेर घर फर्कने क्रममा थिए । सोही समयमा दुई अज्ञात व्यक्तिहरूले उनलाई बिच बाटोमा घेरा हालेर नियन्त्रणमा लिएर पीडितको मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बाँधी जबरजस्ती बसपार्कस्थित गणेश होटेल एन्ड लजको दोस्रो तलाको कोठामा लगेका थिए । त्यहाँ कोठा बन्द गरी दुवै अभियुक्तले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटनापश्चात् अभियुक्तहरूले पीडितलाई वैशाख २३ गते बिहान ८ बजे घडिअर्वा पोखरीको गल्लीमा रगताम्य अवस्थामा छाडेर फरार भएका थिए । पीडितको किटानी जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा साउन २० गते वीरगञ्ज–१५ प्रतिमा चोकबाट दुवै अभियुक्तलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार पक्राउ परेका अभियुक्तहरूमाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको कसुरमा अनुसन्धान भइरहेको छ ।पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
















