कलैया , २० श्रावण । बाराको पचरौता नगरपालिकाका नगरप्रमुख जलांधर सिंह जैसवालले एमालेभित्र नै विभाजनको स्थिति सिर्जना गरेका छन् ।

स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर विजयी भएका सिंह जैसवालले जनताप्रति नभइ नातागोतालाई प्राथमिकता दिएपछि पचरौता एमालेभित्र असन्तुष्टि चुलिएको छ । विशेष स्रोतका अनुसार, पचरौताका पुराना कम्युनिस्ट नेताहरू तथा कार्यकर्ताहरू मेयरको मनपरी शैली र अवसरवादी प्रवृत्तिबाट आक्रोशित भएको बुझिएको छ ।

नेपाली काँग्रेसबाट राजनीतिक यात्रा थालेका नगरप्रमुख सिंह जैसवाल २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेस परित्याग गरेर एमालेको टिकटबाट प्रवेश गरेका उनी एमालेबाट मेयर पदमा निर्वाचित भएका थिए । ‘हामीले भोट मात्र हैन, तन, मन र धन पनि दिएर जितायौं स्थानीय एकजना एमालेका कार्यकर्ताले भने, तर, चुनाव जितेपछि एमाले कार्यकर्तालाई हेपेर आफ्नै पारिवारिक र व्यक्तिवादी सञ्जाललाई प्राथमिकता दिन थालेका छन् ।’

एमालेका एक नेताका अनुसार, नगरपालिकाका ठेक्कापट्टा, कर्मचारी नियुक्ति, अनुदान वितरण जस्ता निर्णयहरूमा एमाले पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरूलाई बेवास्ता गरिएको छ । यसै कारण पार्टीभित्र असन्तोष बढ्दो छ । “जनताको सेवा गर्न भनेर जिताएका थियौँ, तर उनी आफन्त र मिल्नेहरूलाई मात्र सेवा दिन थालेपछि हामीजस्ता इमानदार कार्यकर्ताहरूलाई धोका महसुस भयो,“ एमाले नेता भन्छन् ।

नगर प्रमुख जैसवारको यही प्रवृत्तिले पचरौता नगरपालिकाभित्र एमालेमा गुटबन्दी हुन थालेको हो । अहिले पचरौताका पुराना, इमान्दार र जनताबीच घुलमिल भएका कार्यकर्ता उनको कार्यशैलीको विरोधमा छन भने नवप्रवेशी र अवसरवादी समूह नगर प्रमुखको पक्षमा लागेको छ ।

पचरौतामा सिंह जैसवालको कार्यशैलीप्रति खुला रूपमा असहमति जनाउने नेताहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । पार्टीभित्र नै दुई धार बनेको छ—एक पक्ष मेयरको अन्धसमर्थक, अर्को पक्ष उनलाई पार्टी सिद्धान्त र अनुशासनविपरीत जाने नेताको रूपमा हेर्ने ।

यो अवस्था एमालेका लागि आगामी निर्वाचनमा घाटाको संकेत हुन सक्छ । नगर प्रमुखमा विजयी हुनुअघि जैसवारले निस्वार्थरुपमा सेवा, नगरमा सुशासन र पारदर्शिता कायम गर्ने जनताले विश्वास गरेका थिए । तर, उनको राजनीतिक यात्रा नै अवसरवादमा आधारित भएकोले पार्टीभित्र निराशा गहिरिँदै गएको छ । यस्तो अवस्था लामो समयसम्म रहन गयो भने एमाले पचरौतामा मात्र हैन, मधेश प्रदेशमै कमजोर हुन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । पछिल्लो समय पचरौता नगरपालिकामा एमाले पार्टीभित्र देखिएको आन्तरिक झगडा, योजना कार्यान्वयनमा ढिलाइ, विकासको खस्कदो अवस्था, पारदर्शिता अभाव, पार्टी बैठकमा बहिष्कारजस्ता गतिविधिहरू यही असन्तोषको परिणाम हुन् ।

अब एमालेको नेतृत्वले समयमै हस्तक्षेप नगरे आगामी चुनावसम्म पार्टी संगठन दुई टुक्रामा विभाजित हुने निश्चित देखिन्छ । सिंह जैसवालको नातावादी र मनोमानी प्रवृत्तिले पचरौताका जनतालाई मात्र हैन, पार्टीलाई समेत धक्का पुगेको जानकारहरू बताउँछन् ।

Leave a Reply