कलैया,चाडपर्व सकिएसँगै आम जनता पार्टी (आजपा)ले भ्रष्टाचार, कुशासन र सरकारको अनावश्यक करविरुद्ध विशेष अभियान सञ्चालन गर्ने भएको छ ।प्रभु साह नेतृत्वको आजपाले काठमाण्डौं र मधेसमा एकैसाथ भ्रष्टाचारविरोधी जागरण अभियान थाल्ने निर्णय गरेको छ ।आगामी मंसिर १ गते काठमाण्डौं र मधेसका आठवटै जिल्लामा पार्टीले भ्रष्टाचारविरोधी विशेष जागरण अभियान र विरोध प्रदर्शन गर्ने जनाएको छ । मुलुकमा बढ्दै गएको भ्रष्टाचार, कुशासन, अनियमितता, महँगी र सरकारले थुपारेको अनावश्यक करविरुद्ध सडकमा उत्रन बाध्य भएको आजपाले जानकारी गराएको छ ।
आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले कुम्भकर्णझैं सुतेको सरकारलाई सचेत गराउन आम जनता सडकमा आउनुपर्ने अवस्था आएको बताउनुभएको छ । ‘जनतामाथि थुपारिएको कर र बढ्दो भ्रष्टाचारविरुद्ध हामीले शान्तिपूर्ण तरिकाले जागरण अभियान सञ्चालन गर्न गइरहेका छौं ।’ उहाँले भन्नुभएको छ ।

मंसिर १ मा काठमाण्डौंको शान्तिबाटिकामा वृहत् विरोध प्रदर्शनको योजना बनाएको आजपाले ‘सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ’ भन्ने नाराका साथ विशेष अभियान चलाउने निर्णय गरेको हो ।
आजपाको मधेस प्रदेश कमिटीले पनि सप्तरीदेखि पर्सासम्म मधेसका मुख्य सहरहरूमा सभासहित विशेष जागरण अभियानको आयोजना गर्ने निर्णय गरेको छ । मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा जागरण अभियान एक सातासम्म सञ्चालन हुनेछ ।

Leave a Reply