सिमरा,पानीको महत्व र यसको संरक्षणप्रति समुदायमा चेतना फैलाउने उद्देश्यले जीतपुरसिमरा– १५ स्थित जनकल्याण आधारभूत विद्यालयका शिक्षक र विद्याथीहरुले सन्देशमूलक ¥यालीको आयोजना गरेका छन ।बिहीवार बिहान ७ः३० बजेबाट सुरु गरिएको ¥याली विद्यालय परिसरबाट प्रारम्भ भई विभिन्न टोल परिक्रमा गर्दै पुनः विद्यालयमै समापन गरिएको थियो । विद्यालयका करिब १५० जना विद्यार्थी र १० जना शिक्षकहरूको सहभागिता रहेको ¥यालीमा विद्यार्थीले जल संरक्षण सम्बन्धि सन्देश झल्कने प्लेकार्ड बोेकेका थिए ।
विद्यार्थीहरूले “पानी बचाऊ, जीवन जोगाऔं”, “हाम्रो भविष्य हाम्रो हातमा”, “आज बचत गरौं, भोली प्यास नलागोस” र “हामी सबै मिलेर पानीको संकट टारौं, थोपा थोपा जोगाऔं” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका हुन ।
बालबालिकालाई सानैदेखि वातावरणीय सचेतना दिने उद्देश्यले यस्तो ¥यालीको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक गोकुल कुँवरले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक जिम्मेवारीबोधको विकास मात्रै होइन, समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।¥यालीपछि विद्यालय परिसरमै आयोजित संक्षिप्त छलफल गरी विद्यार्थीहरुलाई पानीको महत्व, संरक्षणका उपाय, वर्षा पानी संकलन र जल स्रोतको दीगो उपयोग सम्बन्धी जानकारी दिइएको थियो ।

















