कलैया,बाराको पचरौता नगरपालिकाका नगर प्रमुख (मेयर) जलन्धर सिंहले यसै महिनाको अन्तिम साता आयोजना गरिने महाविरी झण्डा मेलाको नाममा सामाजिक सद्भाव बिगार्ने र द्वन्द निम्त्याउने काम नगर्न आग्रह गर्नुभएको छ ।नगरकै गौरवको रुपमा रहेको महाविरी झण्डा मेलालाई स्थानीय सरकारकै समन्वयमा आयोजना गर्ने तयारी भइरहेका बेला केही व्यक्तिहरुले अर्को महाविरी मेला लगाउने हल्ला चलाएको सुनिएको भन्दै नगर प्रमुख सिंहले एकै ठाउँमा दुई वटा मेला लगाएर सद्भाव बिगार्ने काम नगर्न अनुरोध गर्नुभएको हो ।
‘अघिल्लो दुई वर्षमा दुई वटा मेला आयोजना गर्दा दोहोरो झडप भएर सामाजिक सद्भाव बिग्रिने र अशान्त वातावरणको स्थिति बनेको थियो’ नगर प्रमुख सिंहले भन्नुभयो, ‘त्यसैले यस पटक दुई वटा मेला होइन्, एउटै मेलालाई भव्यरुपमा सबैको साझा बनाएर अघि बढ्नुपर्छ ।’अघिल्ला वर्षमा भएको घटनाले कसैलाई पनि फाइदा नभएको भन्दै सिंहले पर्वलाई उल्लासपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । स्थानीय सरकारले आफै मेलाको तयारी गरिरहेको अवस्थामा अर्को समूहले छुट्टै मेलाको तयारी गर्न आवश्यकता नरहेको सिंहको भनाई छ ।नगरभित्रको गौरव महाविरी झण्डा मेलालाई स्थानीय सरकारकै सक्रियतामा निरन्तरता दिने तयारी गरिरहँदा केही व्यक्तिहरु अर्को मेला लगाउने भन्दै समिति गठन गरेर सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको नगर प्रमुख सिंहको भनाई छ ।


















