निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई बुधवारबाट गोला प्रथाव्दारा काठ दाउरा बिक्री वितरण शुरु गरेको छ ।उपभोक्ताहरुलाई समानताका आधारमा वन पैदावर बिक्री गर्ने उद्देश्यले गोला प्रथाबाट काठ दाउरा बिक्री शुरु गरिएका समूहका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष ०८०-०८१ मा कटान मुछान गरी घाटगद्धि स्थानमा राखिएका विभिन्न जातको काठ, दाउरा र गोलिया आन्तरिक खपतको लागि उपभोक्ताहरुलाई बिक्री वितरण गर्ने क्रममा एउटै गोलियामा धरै उपभोक्ताहरुले माग गरेपछि गोला प्रथा गरेर वितरण गर्न लागिएको जानकारी दिनुभयो ।
समूहको घाट गद्दीस्थानमा काठ दाउराको माग गर्ने उपभोक्ताहरुलाई भेला गराएर गोला छानिएको हो ।समूहमा आवद्ध भइ घरधुरी दर्ता र सदस्यता नवीकरण गरेका उपभोक्ताहरुको लागि मात्रै काठ दाउरा बिक्री वितरण गरिएको पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच वन समूहले आफ्नो समूहमा अवद्ध केही उपभोक्ताहरु अर्को सामुदायिक वन समुहमा पनि सदस्य रहेको पाइएकोले त्यस्ता दोहोरो उपभोक्ता सदस्य बनेकाहरुलाई वन पैदावार उपलब्ध नगराउने जनाएको छ ।अध्यक्ष पाण्डेले एउटा अर्को सूचनामार्फत वन समूहमा रहेका २६ जना उपभोक्ताहरुको नाम नै तोकेर निजगढ ९ मा हालै डिभिजन वन कार्यालय बारा सिमराबाट हस्तान्तरण भएको वाक्यश्वर सामुदायिक वन उपभोक्ता समूहमा पनि सदस्य रहेको पाइएकोले ५ दिनभित्र सम्पर्कमा आउन अन्यथा त्यस्ता उपभोक्ताहरुलाई काठ दाउरा उपलब्ध गराउन समूह बाध्य नहुने जनाइएको छ ।


















