वीरगञ्ज,
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारमा सहभागी हुने अवस्था अहिले नै नआएको बताउनुभएको छ ।
वीरगञ्जमा आइतवार सम्पन्न जनमत पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आफ्नो मागको सम्बोधन गरेर काम गर्ने वतावरण तयार नहुन्जेल पार्टी सरकारमा सामेल नहुने अडान दोहो¥याउनुभएको हो । ‘काम गर्ने वातावरण भएमा मात्रै सरकारमा जान्छौं, उहाँले भन्नुभयो, पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पायो भने मात्रै काम गर्ने वातावरण बन्नेछ ।’

उहाँले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको पनि बताउनुभएको छ । देशमा ठूला ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि ठोस कारबाही हुन नसकेको बताउनुभयो । भ्रष्टाचारमा अख्तियारले ठूला माछालाई समाउन नसकेको बताउँदै उहाँले अख्तियार, निर्वाचन आयोग, न्यायधिशसँगै प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न माग पनि गर्नुभयो । राजनीतिक नियुक्तिका कारण ति निकायले कुनै काम प्रभावकारी रुपमा गर्न नसकेको राउतको टिप्पणी छ ।
समाजवादको स्थापनाका लागि पूँजीवादी क्रान्तिको आवश्यक्ता औँल्याउँदै उहाँले सामाजिक लोकतन्त्रको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता निशूल्क गर्न सके मात्रै देशको विकास हुने उहाँको धारणा छ । सिद्धान्त विपरितका दलहरुबीचको एकताले देशमा अस्थिरता उब्जिएको बताउँदै उहाँले स्वार्थका लागि गठबन्धन गर्ने परिपाटीको अन्त्य गर्न सबै एक हुनुपर्ने पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सचिव बिपि साह, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवm जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायत पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी एवम् नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply