निजगढ,निजगढमा धान रोपाइँको लागि बाँध पैनीबाट पानी संचालन गर्न वडा नम्बर ८ का किसान निराजन चौलागाईको संयोजकत्वमा १५ सदस्यीय अस्थायी सिँचाइ समिति गठन भएको छ ।खडेरीका कारण धान रोपाइँ गर्न नपाएका र जसोतसो रोपेको धान खेतमा पनि धाजा फाटेर सुक्न थालेपछि सिँचाइको वैकल्पिक व्यवस्था गर्न निजगढ ६ को सडकटोलमा भेला भएका वडा नम्बर ५, ६, ७ र ८ का किसानहरुले चौलागाईको संयोजकत्वमा सिचाइ समिति गठन गरेको वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी िदनुभयो ।

समितिले तत्कालको लागि वडा नम्बर ७ र ८ को रोपाइँ हुन बाँकी खेतमा सिँचाइको प्रबन्ध गर्ने छ । वडा अध्यक्ष तिमल्सिनाका अनुसार समितिले २ दिनभित्र स्वामीको रुखदेखि उत्तर जमुना पैनी भरुण क्षेत्रसम्म जंगली पैनी सरसफाइ गर्ने र पानीको परिणाम बढाएर वडा नम्बर ७ र ८ को रोपाइँ हुन बाँकी क्षेत्रमा सिँचाई सुविधा उपलब्ध गराउने छ । जंगली पैनीको उक्त क्षेत्रमा घाँस र माटोले पुरिएर पर्याप्त पानी संचालन हुनसकेको छैन ।

पैनी पुरिएर साँघुरो भएका कारण बकैया खोला मुल बाँध पैनी सिँचाई समितिले संचालन गरेको अधिकांश पानी जमुना पैनी भरुणमा खेर गएको छ । समितिले निजगढ नगरपालिकाको सहयोगमा एक्साभेटर प्रयोग गरेर पैनीको मर्मत तथा सरसफाइ गर्ने भएको हो । भेलामा निजगढ वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगर, ६ का वडा अध्यक्ष तिमल्सिना, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ८ का वडा अध्यक्ष सोनु लामालगायत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

लामो समयदेखिको खडेरीका कारण साविक निजगढ गाविसको वडा नम्बर ४, ५ र ६ को अधिकांश भागमा किसानहरुले बाँध पैनी र बोरिङ्गको पानीबाट रोपाइँ गरिसकेको भएपनि वडा नम्बर ६ को दक्षिण÷पूर्वी, वडा नम्बर ७ तथा वडा नम्बर ८ को अधिकांश क्षेत्रमा अझै पनि रोपाइँ हुनसकेको छैन ।

Leave a Reply