रौतहट,डिभिजन वन कार्यालय रौतहटले तस्करी गरेर लैजादै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट मंगलवार राती सालको गोलिया काठ बरामद गरेको छ ।डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत विनोद जेठरा र जमदार उपेन्द्र यादव सम्मिलित गस्ती टोलीले नियमित अनुगमनका क्रममा जिल्लाको गुजरा नगरपालिका सिम्री क्षेत्रबाट तस्करीको गोलिया काठसहित गाडीलाई नियन्त्रणमा लिएको हो । गस्ती टोलीले चेकजाँच गर्न खोज्दा गाडी भगाइएपछि झण्डै ७ किलोमिटर टाढा पुगेर नियन्त्रणमा लिएको हो ।
गुजरा नगरपालिकाको सिम्री वन क्षेत्रबाट सब डिभिजन वन कार्यालय जगलसैयाको सडकबाट लैजादै गरेको अबैध गोलिया काठ लोड भएको स्कारपियो गाडी वन टोलीले रोक्न खोज्दा चालकले भगाउने प्रयास गरेको र टोलीले कटहरिया नगरपालिका वडा नम्बर १ स्थित भसेढवा नजिकबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
काठ तस्कर र गाडी चालक भने फरार भएका छन । वन गस्ति टोलीले नियन्त्रणमा लिने अवस्था आएपछि उनीहरु गाडी छाडेर फरार बनेको कार्यालय स्रोतले जनाएको छ ।वन कार्यालयले काठसहितको गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ । काठ तस्करीमा संलग्न व्यक्तिहरूको पनि खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

















