वीरगन्ज,वीरगन्ज– ठोरी हुलाकी राजमार्गमा विगत ७वर्षदेखि निर्माणाधीन तिलावे नदीको पुल शनिबार उद्घाटन गरिएको छ।

संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले शनिबार तिलावे नदीमा नवनिर्मित पुलको उद्घाटन गर्नु भएको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा सांसद हरिनारायण रौनियार, मधेस प्रदेश सभा सदस्य करिमा बेगम, जन्नत अन्सारी,वीरगन्ज माहनगरपालिकाका मेयर राजेशमान सिंह, जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

पर्सा जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदिमा ७ करोड ७१ लाख रुपैयाँको लागतमा १ सय मिटर लम्बाइ र ७ मिटर चौडाइको पुल ठेक्का सम्झौता भएको ७ वर्षपछि निर्माण भएको हो। पुल ठेक्का लागेको ७ वर्षपछि अहिले आएर बल्ल निर्माण सम्पन्न भएको हो ।

२०७२ जेठ २५ मा पप्पु÷लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे खोला पुलको निर्माण कार्यको ठेक्का सकारेको थियो ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर ठेक्का लागेको ७ वर्ष बितिसक्दा पनि विभिन्न कारण देखाउदै ठेकेदार कम्पनीले पटक पटक म्याद थप गराउदै आएको थियो ।

यसअघि अलपत्र परेको पुलको निर्माण कार्य स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिनासम्म प्रदर्शन सहितको दबाब दिएपछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो । त्यसबेला (गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षीय बैठकले ७ महिनादेखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गतेदेखि सुचारु गर्ने सहमति गरेको थियो ।

निर्माणको ठेक्का सम्झौता २०७३ सालमा भएपनि प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लाग्न पुगेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले बताउनुभयो । शनिबार पुलको उद्घाटन गरिएको भएपनि पुलको एप्रोच सडक र नदीको तटबन्धको काम भने गरिएको छैन। अहिले पुलको ९० प्रतिशत काम सकिएको र बर्खा सकिएलगत्तै ती दुबै काम शुरु गरिने ठेकेदार रौनियारले बताउनुभयो ।

तिलावे नदीको पुरानो फलामे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहाँ हरेक दिन बिहान र साँझ घण्टौसम्म ट्राफिक जाम लाग्ने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here