वीरगञ्ज – एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी महिलाको मानवसेवा आश्रम वीरगन्जको निरन्तर खोजी र समन्वयपछि पारिवारिक पुनर्मिलन भएको छ । भारतको मोतिहारी जिल्ला राजेपुर थाना, मोहम्मदपुर सागर गाउँ स्थायी घर भई विगत एक वर्षदेखि हराइरहेकी ती भारतीय महिलाको बिहिवार पारिवारिक पुनर्मिलन भएको हो ।
इलाका प्रहरी कार्यालय प्रसौनी बाराले उद्धार गरी २०८३ असोज ७ गते बुधबार राति मानवसेवा आश्रम वीरगञ्जमा पु¥याएको थियो । आश्रमको तत्परतामा परिवारको पहिचान भएपछि महिलालाई उनका भाइ सोहन रायको जिम्मा लगाइएको आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले जनाउनुभएको छ ।
सडक तथा सार्वजनिक स्थानमा अलपत्र परेका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पारिवारिक पुनर्मिलन गराउँदै आएका संस्थापक गुप्ताका अनुसार हराइरहेकी महिलालाई आफन्तको सम्पर्कमा ल्याई पुनर्मिलन गराउन सक्नु आश्रमको सेवाकार्यको ठूलो उपलब्धि हो ।
यस परोपकारी कार्यमा सहयोग पु¥याउने इलाका प्रहरी कार्यालय प्रसौनी, सामाजिक अभियन्ता विनय कुमार तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आश्रमले एक वर्षपछि परिवारसँग जोडिन पाएको यस घटनालाई मानवसेवाको महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ ।

















