सिमरा,बारा, पर्सा, रौतहट आसपासका क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष मनसुनमा २० प्रतिशतमात्रै वर्षा भएको छ ।
सामान्यतया जेठ १५ देखि असोज १५ सम्म (जुन, जुलाई, अगस्ट, सेप्टेम्बर)लाई मनसुन अवधि मानिन्छ । जल तथा मौसम विभाग सिमरा शाखा कार्यालयका अनुसार यस वर्ष जुन र जुलाईमा ३२० मिलिमिटरमात्रै वर्षा भएको छ । यो गत वर्षको तुलनामा करिब २० देखि २५ प्रतिशतमात्रै हो ।

मनसुन अवधिको बाँकी २ महिनामा सरदर वर्षा हुन्छ कि भन्ने आकलनमात्रै गर्न सकिने जल तथा मौसम शाखा सिमराका सहायक मौसमविद्ध लक्ष्मण प्रसाद कँडेलले जनानुभयो । उहाँले सन् २०२४ मा मनसुन अवधिको ४ महिनामा १ हजार ५०८ मिलिमिटर वर्षा भएको जानकारी दिनुभयो । विगत ३÷४ वर्षको तथ्याङ्क केलाउँदा गत वर्ष सरदरभन्दा बढी वर्षा भएको उहाँको भनाइ छ । सरदरमा बारा, पर्सा, रौतहटमा एक सिजनमा १ हजार २ सय मिलिमिटर वर्षा हुने गरेको छ ।

सिमरा विमानस्थलस्थित जल तथा मौसम शाखाले १ सयदेखि १५० किलोमिटर क्षेत्र आसपासको तापक्रम, वर्षा तथा हावामा पानीको मात्रालाई रेकर्ड राख्दछ । सहायक मौसमविद् कँडेलले गत वर्षको २४ घण्टे तथ्याङ्कका आधारमा असोज १८ गते सबैभन्दा धेरै अर्थात् १८८ दशमलव २ मिलिमिटर वर्षा भएको जनाउनुभयो ।गत वर्ष अधिकतम् तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस मापन भएको उहाँको भनाइ छ । सामान्यतया बंगालको खाडीबाट आएको मनसुन मध्यपश्चिमका पहाडमा ठोक्किएर नेपालमा वर्षा हुने गरेको छ । तर अहिले पश्चिमी हावाले त्यसलाई सक्रिय हुन नदिएको वतावरणविद्हरुको भनाई छ ।
रोपाइँ कम हुँदा खाद्य संकटको जोखिम
कलैया,अन्नको भण्डार मधेस प्रदेशमा धान रोपाइँ ३५ प्रतिशतमा सीमित भएपछि देशभर खाद्य सङ्कटको जोखिम बढेको छ ।कृषि विकास निर्देशनालयले प्रदेशका आठै जिल्लामा गरेको अध्ययनले प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, धनुषा र सर्लाहीलाई ‘रेडजोन’मा राख्दै तत्काल सिँचाइको व्यवस्था नगरे अवस्था भयावह हुने चेतावनी दिएको छ ।
निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार बढी धान उत्पादन हुने जिल्लाहरूमा नै खेती कम भएको र भएको बेर्ना पनि सुक्न थालेकाले मधेस भयावह अवस्थामा छ । ‘अबको २० दिनभित्र रेडजोनमा रहेका जिल्लाहरूमा सतह सिँचाइको व्यवस्था गरिएन भने मुलुकमा खाद्य सङ्कट हुने निश्चित जस्तै छ,’ उहाँले भन्नुभयो, ‘गम्भीरतापूर्वक लागिएन भने भएको खेती र बेर्ना सबै सुकेर जान्छ । अनि धान उत्पादन ह्वात्तै घट्नेछ ।’

कृषि विकास निर्देशनालयले यही २६ गतेदेखि दुईवटा टोलीमार्फत एक साता लगाएर प्रदेशका ८ वटै जिल्लामा गरेको अध्ययनले यस्तो देखाएको हो ।यसैबीच धानको रोपाइँ हुन नसकेपछि अब मधेसका किसानले वैकल्पिक बालीमा जानुपर्ने अवस्था आएको छ ।
साउन दोस्रो या बढीमा तेस्रो हप्तासम्म पनि धानको रोपाइँ गर्न सकिने र पानी नपर्ने यस्तै सुक्खा अवस्था रहे जमिन खाली राख्नुको सट्टामा वैकल्पिक बाली किसानले लगाउन सक्ने कृषि विज्ञ बताउँछन् । बाली विज्ञका अनुसार सुक्खा क्षेत्रमा लगाउन सकिने बालीबारे अनुसन्धानको खाँचो छ ।

अहिले एउटा विकल्पका रूपमा खेतमा हल्का चिस्यान भएमा घैया धानको बीउ सहजै छर्न र खेती गर्न सकिन्छ । धानबालीका विज्ञ श्रवण साहका अनुसार अलिअलि चिस्यान मात्रै भएमा जोतेर, जमिन खोस्रेर हातैले वा मेशिनले सहजै घैया धान छर्न सकिन्छ । उहाँका अनुसार घैयालाई छरुवा धानकै रूपमा छर्ने हो । सुक्खा, कम पानी पर्ने वा आकाशे पानीको भरमा खेती गरिने जग्गामा घैया धान उपयुक्त मानिन्छ ।

छरुवा प्रविधिबाट हुने घैया धान कम खर्च र लागतमा सहजै खेती गरी उत्पादन लिन पनि सकिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार मधेशमा पनि कोदो खेती विगतमा हुन्थ्यो । अहिले पनि कम पानीमै उत्पादन लिन सकिने कोदो विकल्प हुन सक्ने उहाँ बताउनुहुन्छ ।

Leave a Reply