कलैया,भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । माइती नेपाल वीरगञ्ज आवधिक गृहले उनीहरूलाई स्वदेश फिर्ता गराएर परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

माइती नेपाल वीरगञ्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार भारतको बिहार बृहत् आश्रय गृह, बाल गृह (बालिका) युनिट भैसाखाल, सिवानमा आश्रित महोत्तरी औरही नगरपालिका २ की १७ वर्षीया र बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ की १६ वर्षीया किशोरीलाई नेपाल ल्याइएको हो ।उनीहरूलाई भारतको बिहारस्थित बाल कल्याण समितिको आदेश तथा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा वीरगञ्ज ल्याइएको पौडेलले जानकारी दिनुभयो ।दुवै किशोरी करिब एक वर्षअघि फरक–फरक समयमा साथीहरूको प्रभावमा परेर घर छाडेर भारत पुगेका थिए । महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा भारतको छपरा पुगेकी थिइन् । उनलाई धार्मिक स्थलहरूको दर्शन गराउने तथा राम्रो आम्दानी हुने काम दिलाइदिने आश्वासन दिइएको थियो ।
यसैगरी बाराकी किशोरी भने गाउँकै साथीसँग भारतको बिहारस्थित छपरा पुगेकी र होटलमा काम गरिरहेकै बेला बढी आम्दानी हुने भन्दै अर्की युवतीले विवाह तथा सांगीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरेपछि त्यहाँ पुगेकी हुन ।दुवै किशोरी भारतमा गैरकानुनी रूपमा सञ्चालन हुने नृत्य समूह ‘अर्केस्ट्रा’ सम्बन्धी गतिविधिमा संलग्न स्थानमा पुगेपछि भारतीय प्रहरीको निगरानीमा परेका थिए । त्यसपछि उनीहरूलाई उद्धार गरी बाल संरक्षण गृहमा राखिएको थियो ।



















