वीरगञ्ज,पर्सा जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनीवार बसेको विपद्सँग सरोकार भएका निकायसँगको बैठकले अब डिपबोरिङ जडान गर्नुअघि समितिसँग अनिवार्य रूपमा अनुमति लिनुपर्ने निर्णय गरेको हो ।
प्रजिअ अर्यालले जिल्लामा जथाभावी ढङ्गले डिपबोरिङ खन्ने काम भएकाले सो नियन्त्रणका लागि अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो । “योसँगै धान रोपाइँको अवस्था, रोपाइँ पश्चात बिरुवाको अवस्था, रोपाइँ हुन नसकी क्षति व्यहोरेका किसानलाई पर्न गएको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको लागि आवश्यकता अनुसार समितिमा कृषि ज्ञान केन्द्रले तथ्य, तथ्याङ्क एवं विवरण पेस गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।यसैगरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको अवधिभर कुनै पनि कार्यालय प्रमुखले जिल्ला प्रशासन कार्यालयको स्वीकृति नलिई जिल्ला नछोड्ने निर्णय पनि भएको छ ।



















