मनोज साह
जीतपुर,वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाले बारा जिल्लामा गम्भीर रूप लिएको तथ्य सार्वजनिक भएको छ ।अप्रवासी स्रोत केन्द्र (एमआईसी) बारामा आर्थिक वर्ष २०८२-८३ मा मात्रै १ हजार २६८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ६११ वटा उजुरी फछ्र्योट गरिएको केन्द्रले जनाएको छ ।

अप्रवासी स्रोत केन्द्र बाराका सहजकर्ता कृष्णनन्द गुप्ताका अनुसार उजुरी समाधानका क्रममा पीडित श्रमिक तथा उनीहरूका परिवारलाई हालसम्म ११ करोड ८३ लाख १२ हजार ९२६ रुपैयाँ फिर्ता गराइएको छ ।गुप्ताले बाराबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई विभिन्न एजेन्ट तथा म्यानपावर कम्पनीहरूले आकर्षक सपना देखाएर ठगी गर्ने घटनाहरू व्यापक रहेको बताउनुभयो । उहाँका अनुसार अधिकांश उजुरी विदेश पठाइदिने नाममा रकम असुल्ने, सम्झौताविपरीत काममा लगाउने, तलब तथा अन्य सुविधाबाट वञ्चित गर्ने र विदेशमा अलपत्र पार्ने जस्ता विषयसँग सम्बन्धित छन् ।
उहाँले वैदेशिक रोजगारीका क्रममा हुने ठगीविरुद्ध केन्द्रले पीडितलाई कानुनी सहायता, परामर्श सेवा तथा समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्दै आएको जानकारी दिनुभयो ।“यहाँ सबैभन्दा बढी विदेश पठाउने एजेन्ट तथा म्यानपावर कम्पनीमार्फत ठगिएका व्यक्तिहरूका उजुरी दर्ता हुने गरेका छन्,” गुप्ताले भन्नुभयो ।
बारामा वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीको उच्च संख्या र पीडितलाई फिर्ता गराइएको करोडौं रुपैयाँले यस क्षेत्रमा ठगीको जालो अझै व्यापक रहेको संकेत गरेको छ ।
यसले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई थप सचेत रहनुपर्ने आवश्यकता औँल्याएको छ भने सम्बन्धित सरकारी निकायले निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाउनुपर्ने मागसमेत उठ्न थालेको छ ।



















