रौतहट,रौतहटका दुई छुट्टाछुट्टै स्थानमा सिँचाइका लागि खेतमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर दुईजना किसानको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, माधवनारायण नगरपालिका– ४ बिसुनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका– २ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरीका अनुसार, रामबाबु मुखिया आफ्नो धान खेतमा मोटरबाट पानी सिँचाइ गरिरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भए । उनलाई तत्काल प्रादेशिक अस्पताल गौर पु¥याइए पनि उपचारका क्रममा उनको मृत्यु भयो ।यस्तै, कटहरिया नगरपालिकाको जमुनियामा मोक्तार देवान पनि आफ्नो खेतमा सिँचाइका लागि मोटर चलाउँदा करेन्टको चपेटामा परेर ज्यान गुमाएका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले घटनाको पुष्टि गर्नुभएको छ ।
प्रहरीले विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

















