वीरगञ्ज,वीरगञ्जको नारायणी अस्पतालमा विगत तीन सातादेखि रेबिजविरुद्धको खोप (सुई) अभाव भएको छ । निःशुल्क उपलब्ध हुनुपर्ने यो खोपको अभावले सेवाग्राही मर्कामा परेका छन् ।अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार, स्वास्थ्य विभागले प्रदेशलाई र प्रदेशले रेबिजको उपचार गर्ने अस्पताल तथा संघसंस्थालाई यो खोप उपलब्ध गराउने व्यवस्था छ । तर, केन्द्रबाटै खोप उपलब्ध नभएका कारण नारायणी अस्पतालमा खोप दिन नसकिएको डा. सिंहले बताउनुभयो ।

यो अभाव पर्सा जिल्लाका अन्य विभिन्न स्वास्थ्य संस्थामा पनि रहेको जानकारी दिइएको छ । अस्पतालले यस विषयमा प्रदेश आपूर्ति शाखा र केन्द्रसम्म लिखित जानकारी गराइसकेको छ ।हाल दैनिक १० देखि १५ जना रेबिजको खोप लगाउन आउने गरेको र उनीहरूलाई बाहिरबाट किनेर ल्याउन सिफारिस गर्ने गरिएको डा. सिंहले जानकारी दिनुभयो । अस्पतालले सेवाग्राहीको जानकारीका लागि सूचना पनि टाँस गरेको छ ।डा.सिंहले यो साउन महिनाभित्रै खोप आपूर्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply