कलैया,बाराको कलैया–मानमत–मटिअर्वा सडक खण्डको निर्माण सम्पन्न नहुँदै ठेकेदार सम्पर्कविहीन भएपछि हुलाकी सडक आयोजना कार्यालय वीरगञ्जले सडक निर्माणको सम्झौता तोड्ने तयारी गरेको छ ।हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत पर्ने मानमत–मटिअर्वा सडकको निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कार्यालय ठेक्का सम्झौता तोडने तयारी गरेको हो ।२०७८ साल माघ २७ गते निर्माण सुरु गरेर ०७९ साल माघ १ गते सम्पन्न गर्ने गरी सप्तकोशी–जलाधार निर्माण जेभीले सो सडक निर्माणको ठेक्का सकार गरेको थियो । सम्झौतिअनुसार ठेक्का सकार गरेर निर्माण सुरु गरेको ठेकेदार कम्पनीले हाल निर्माण सम्पन्न नै नगरी सम्पर्कविहीन भएको हो ।कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सडक निर्माण गरिदिन पटकपटक आग्रह गर्दा समेत ठेकेदारले अटेर गरेपछि नगर प्रमुखले प्रहरीलाई गुहार्नु परेको बताउनुभयो । ठेकेदार कम्पनीका इन्जिनियर सुशील यादवलाई आग्रह गर्दा पनि नमानेपछि नगर प्रमुखको अनुरोधमा जिल्ला प्रहरी कार्यालय बाराले कम्पनीका इन्जिनियर यादवलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।ठेक्का लिएको सप्तकोशी केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कम्पनीका सञ्चालक भावेस बोहोरा हुन् । उनको सप्तकोशी जलाधार कम्पनी प्रालि नागरिक उड्डयन प्राधिकरण कार्यालय काठमाडौं र यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले गरेको सिफारिसको आधारमा कालोसूचीमा परेको कम्पनी हो । भावेस बोहोराको सप्तकोशी जलाधार कम्पनी प्रालिले कलैया–मानमत–मटिअर्वा सडक निर्माणको ठेक्का लिएको हो ।तर, अहिलेसम्म ठेकेदार सम्पर्कमा आएका छैनन् । सडक अलपत्र पारेपछि हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले पनि ठेकेदारलाई तोकता गरेको थियो । तर, अहिलेसम्म आयोजना कार्यालयमा समेत ठेकेदार सम्पर्कमा नआएको कार्यालयका प्रमुख ध्रुव झाले बताउनुभयो । ठेकेदारलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा नआएपछि अब मानमत–मटिअर्वा सडक निर्माणको ठेक्का सम्झौता तोड्ने हुलाकी सडक आयोजना कार्यालय वीरगन्जले तयारी गरेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।प्रमुख झाले भने, “६,७ महिना अगाडि नै हामीले सडक विभागमा मौखिक र लिखित रुपमा उजुरी गरिसकेका छौं । यहाँबाट पनि ठेकेदार कम्पनीलाई सम्पर्कमा आउन पटक पटक आग्रह गरेका छौं । तर, ठेकेदार सम्पर्कविहीन छ । अब ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने प्रकृयामा लागेका छौं । यो हप्ताभित्रमा ठेक्का सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउछौं ।”

Leave a Reply