बसन्त लामा
सिगौल,निजगढ नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सिंगौलमा गत वर्षदेखि निर्माण सुरु गरिएको भवन अझै अधुरो अवस्थामा अलपत्र परेको छ। मधेश प्रदेश सरकारको २० लाखको बजेटमा सुरु गरिएको सो भवन हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन।

प्रदेश सभासद मिना लामाले शिलान्यास गरेको सो भवन कम्प्युटर रुम तथा लाइब्रेरीको अभाव समाधान गर्न निर्माण थालिएको थियो। तर एक वर्ष बितिसक्दा पनि काम अघि नबढ्दा विद्यालयले दैनिक पठनपाठनमा समस्या भोग्नुपरेको शिक्षकहरूको गुनासो छ।

विद्यालयको एक शिक्षकका अनुसार भवनको बाँकी काम र आवश्यक फर्निचरको लागि थप १५ देखि १६ लाख रुपैयाँ लाग्ने अनुमान छ। तर मधेश प्रदेश सरकारको बजेटमार्फत रकम ल्याउनका लागि अग्रिम २० प्रतिशत रकम जम्मा गर्नुपर्ने भनिएको र व्यवस्थापन समितिसँग सो रकम अभावका कारण काम अघि बढ्न सकेको छैन।

भवन निर्माण समितिका एक सदस्यका अनुसार समितिसँग आवश्यक २० प्रतिशत रकम नहुँदा काम रोकिएको हो । “सम्पर्कमा आएका निकायहरू मुकदर्शक बनेका छन्,” ती सदस्यले नाम नखुलाउने सर्तमा बताए।यता, प्रदेश सरकारले अन्य शीर्षकमा बजेट ल्याएर सिगौल क्षेत्रमा धमाधम काम गरिरहेको भए पनि विद्यालयको भवन भने अधुरै अवस्थामा रहेको छ । स्थानीय सरोकारवाला, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको समेत ध्यान नपुग्दा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावकहरूको भनाई छ।विद्यालय भवन अलपत्र परेपछि न त शिक्षक न त विद्यार्थी—कसैलाई पनि सहज वातावरणमा पढाइ सम्भव छैन।

Leave a Reply