निजगढ,‘१० वर्षपछि खोलो पनि फर्किन्छ ।’ भनिन्छ । तर स्थानीयको प्रयासका बाबजुद पूर्वपश्चिम राजमार्गको बकैया पुलमुनिको खोलाको धार फर्काउनभने ४० वर्ष लागेको छ ।राजमार्गको पुलको ड्यामतर्फ सोझिएर बस्तिमा बाढी पस्ने त्रास उत्पन्न गर्दैआएको बकैया नदीको धार निजगढ नगरपालिकाको प्रयासमा सोमवारबाट ४० वर्षअघिको पुरानै कोर्शमा फर्किएको हो ।
स्थानीय काशीनाथ पराजुलीका अनुसार ४० वर्षअघि बकैया नदी राजमार्गको पुलको पश्चिमतर्फको ड्यामको भित्तामा ठोक्किएर बग्ने गथ्र्यो । ‘पहिले पूर्वी किनारा अग्लो र पश्चिमतर्फको बगर होचो थियो, उहाँले भन्नुभयो, २०४२ सालपछि धार बदलिएर पूर्वतर्फ आएको खोलाको धार अहिले फेरि उतै फर्किएको छ ।’
त्यसपछिका वर्षहरुमा निरन्तर पूर्वी किनाराबाट बग्दैआएको यो नदी फेरि पुरानै कोर्शमा फर्किएपछि निजगढ ९ को आर्यघाट क्षेत्र र पूर्वपश्चिम राजमार्गको पक्की ड्याममा देखिएको नदी कटान र बाढीको जोखिम घट्नुको साथै स्थानीयमा पनि बाढीको त्रास केही कम भएको निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले बताउनुभयो । ‘खोलाको मूल धार पश्चिमतर्फ फर्काइएपछि बाढीको त्रास केही कम भएको छ, वडा अध्यक्ष कटुवालले भन्नुभयो, तर खोलाका पश्चिमतर्फ सतह अझै गहिरोे पारेर पूर्वी किनारामा बलियो तटबन्द निर्माण नगरेसम्म यहिले नै यसै भन्न सकिन्न ।’ उहाँले पूर्वी किनाराको आर्यघाट क्षेत्रमा ढुङ्गाको स्पर र थप तटबन्ध निर्माण गर्न आवश्यक भएको पनि बताउनुभयो ।
पछिल्ला वर्षहरुमा बकैयाले धार परिवर्तन गरेर पूर्वी भागबाट बग्न थालेपछि सो क्षेत्रमा बाढीको जोखिम उत्पन्न हुदैआएको थियो । बाढीले ड्याम कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्गको ड्यामसंगै आर्यघाट र आसपासको बस्तिमा बाढीको जोखिम देखिएको हो । नदीले छोडेपछि पश्चिमतर्फको नदी उकास जमिनमा रुखहरु बढेर जंगलमा परिणत भएपछि बकैया खोलो पूर्वी क्षेत्रमा एकोहोरिदैआएको थियो ।
अघिल्लो वर्ष बाढीले पुलको ड्यामसमेत भत्काउन थालेपछि बकैयाटोल र खयरघारीका बासिन्दा त्रसित बनेका थिए । ‘बस्तिमा बाढी पस्ला कि भन्ने चिन्ताले कयौं रात राम्ररी सुत्न पनि सकिएन’ बकैया खयरघारीका नारायण खडकाले भन्नुभयो, ‘अब चाही बाढीबाट सुरक्षित होइन्छ कि भन्ने आशा पलाएको छ ।’
बकैया बाढी कटानले आर्यघाट, पुलको ड्याम र बस्तिसमेत जोखिममा परेपछि नगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा निर्णय गरेर गत असार २३ गतेबाट नदी च्यानलाईजमार्फत खोलाको धार पश्चिमतर्फ फर्काउने प्रयास शुरु गरेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बताउनुभयो । उहाँले ३ वटा एक्साभेटर, एउटा लोडर र ४ वटा टिपर प्रयोग गरेर बकैया पुलमुनीबाट उत्तर र दक्षिणतर्फ करिव ६ सय मिटर लामो च्यानलाइज ड्याम र पूर्व किनारामा तार जालीको ड्याम निर्माण गरेर नदीको मुल धार पश्चिमतर्फ फर्काउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
नदी नियन्त्रण गरेर बस्ति र राजमार्गको ड्याम सुरक्षित पार्नसडक विभाग हेटौडाले पनि हालसालै पूर्वी किनारामा तार जालीको ६३ मिटर लामो ड्याम निर्माण गरेको नगरपालिकाका इन्जिनियर नविन खनालले बताउनुभयो । नगरपालिकाले सोही क्षेत्रमा थप एउटा स्पर पनि निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘पश्चिमतर्फ च्यानलाइज बाँध र पूर्व भागमा तार जालीको ड्याम तथा स्पर निर्माण गरिएको छ, खनालले भन्नुभयो, अब निजगढको पुल क्षेत्रमा बाढीको जोखिम कम हुन्छ ।’ तर अहिलेसम्म ठूलो वर्षा नभएकोले बाढीले कस्तो रुप र दिशा लिन्छ भन्ने बारेमा भने यसै भन्न नसकिने उहाँको पनि भनाई छ ।नदी च्यानलाइजको लागि नगरपालिकाले ३ वटा एक्साभेटर भाडामा लिएको हो भनेटिपर र लोडर भने स्थानीय व्यवसायीहरुले निशुल्क उपलब्ध गराएका थिए ।
यसमा २ वटा फोटो छ ।


















