वीरगञ्ज,पर्साको सखुवा प्रसौनी गाउँपालिका– १, सिद्धपुरस्थित राष्ट्रिय वन क्षेत्रको सीमाना छुट्याउन वन कार्यालयका कर्मचारीहरुले गाडेका किला स्थानीय जनप्रतिनिधिहरूले उखेलेर फालेका छन् ।वर्षौँदेखि भूमिहीन दलित समुदायले खेतीपाती गर्दै आएको करिब पाँच बिघा जग्गामा शनीवार वन कार्यालयले नापजाँच गरी किलाखुटा गाडेपछि आइतवार गाउँपालिका अध्यक्ष यशवन्त यादव नेतृत्वको टोलीले किलाखुटा उखेलेर फालेको हो ।

गाउँपालिका अध्यक्ष यादवले वन कार्यालयले स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय वा सल्लाह नगरी जग्गामा किलाखुटा गाडेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सिद्धपुरमा करिब २ सय ५० उराँव समुदायका परिवार बस्छन् । उनीहरू सबै सुकुम्वासी छन् । उनीहरूले पुस्तौँदेखि यो जग्गामा खेती गरेर परिवार पाल्दै आएका छन् । वन कार्यालयले उनीहरूको जीविकामाथि नै सङ्कट ल्याउने गरी किलाखुटा गाडेपछि हामीले त्यसलाई उखेलेर फालिदियौँ ।”
अध्यक्ष यादवले भूमिहीन दलितहरूको वैकल्पिक व्यवस्था नहुँदासम्म जग्गामा हस्तक्षेप नगर्न वन कार्यालयलाई चेतावनी दिनुभएको छ । उहाँले दुई साताअघि वन कार्यालयका कर्मचारीसँग भएको छलफलमा पनि वैकल्पिक व्यवस्था नहुँदासम्म कुनै कदम नचाल्न आग्रह गरेको भएता पनि वन कार्यालयले एकतर्फी रूपमा काम अघि बढाएको आरोप लगाउनुभयो ।

स्थानीय दलित महिला सहंशा उराँवले आफूले दुई पुस्तादेखि यो जग्गामा खेती गरेर जीविका चलाउँदै आएका बताइन । “वन कार्यालयको कदमले हाम्रो बासै उठ्ने अवस्था आएको छ,’ उहाँले बताउनुभयो ।यस्तै, पूर्व गाविस अध्यक्ष लालदेव उराँवले वन कार्यालयको कदमलाई ‘जनविरोधी’ भन्दै वैकल्पिक व्यवस्था नभएसम्म जग्गामा हस्तक्षेप स्वीकार नगर्ने अडान राख्नुभयो ।आइतवार किलाखुटा उखेल्ने कार्यमा गाउँपालिका अध्यक्ष यादव, वडा अध्यक्ष थारु, गाविसका पूर्वअध्यक्ष लालदेव उराँव र कार्यपालिका सदस्य बाबुराम उराँवसहित स्थानीयको सहभागिता थियो ।

Leave a Reply