पुष्पराज खतिवडा
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरमा प्रथम जीतपुरसिमरा महोत्सव २०८० हुने भएको छ । महोत्सव आयोजनाका विषयमा सोमवार पत्रकार सम्मेलन गरी आयोजकले महोत्सव बारे जानकारी दिएको हो ।स्थानीय उत्पादनसंगै पर्यटन प्रवद्र्धन गरी आर्थिक गतिविधि तीव्र पार्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सव आगामी १८ गतेबाट २९ गतेसम्म रहनेछ ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानीय उद्योगहरुको उत्पादन, कृषि, पर्यटनको प्रवर्धनसँगै आर्थिक गतिविधि वृद्धिका लागि महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ भने मुल नारासहित नगर वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

पालिकाको वडा नम्बर ३ बजनीमा ह्ुने महोत्वसका लागि आवश्यक तयारी भइरहेकोभन्दै महोत्सवमा व्यवसायिक क्षेत्रमा आएको आधुनिक प्रविधिको प्रदर्शनी, स्थानीय कला, विभिन्न जाती र जनजातीहरुको संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिने छ ।यसैगरी पर्यटन प्रवद्र्धनका लागि मधेस प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध गढिमाई मन्दिर, कंकाली मन्दिर लगायतका मुख्य पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार कार्यमा महोत्सव सफल हुने उहाँले बताउनुभयो ।स्थानीय व्यापारलाई प्राथमिकतामा राखेर स्टलहरुमा १५ देखि २५ प्रतिशतसम्मको छुट दिने योजना रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । २ सय स्टल रहने महोत्सवमा स्थानीय र बाह्य गरी १ सयभन्दा बढी स्टल बुक भइसेको आयोजक संघका महासचिव प्रकाश गिरीले जानकारी दिनुभयो । स्टल बुक हुने क्रम जारी रहेको र यसको लागि न्युनतम ८ हजारदेखि २५ हजारसम्म रकम तिर्नुपर्ने उहाँले बताउनुभयो ।

महोत्सव अवलोकनका लागि विद्यार्थीले २५, सर्वसाधारणले ५० र बेलुकी सेशनको लागि १०० रुपैंया शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने निशुल्क टिकटको व्यवस्था गरिएको संघकाक महासचिव गिरीले बताउनुभयो ।महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति समेत रहने छ ।नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष संजयकुमार साह, घनश्याम गिरी, नेपाल पत्रकार महासंघ बारका अध्यक्षसमेत रहनुभएका रेशम तिवारी, संघका पदाधिकारीसहित स्थानीय साना–ठुला व्यवसायीहरुकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य राजुराज गिरीले गर्नुभएको थियो ।

Leave a Reply