गोकुल घोरसाइने,पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको शिकार गरेको घटनामा संलग्न भएको आशंकामा निकुञ्जले २ जना प्रदेश सभा सदस्य र पर्सा जिल्लाको एक गाउँपालिकाका पूर्वअध्यक्षलाई अनुसन्धानको दायरामा तानेको छ ।निकुञ्जले बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई घटनाको अनुसन्धानको दायरमा राखेर सोधपुछको लागि बोलाएको हो ।४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि गाडीमा भाग्दै गरेको अवस्थामा शिकारी समुहका पाँच जनालाई पक्राउ गरेको थियो । सेनाको टोलीले भाग्ने क्रममा उनीहरुले प्रयोग गरेको गाडीको चक्कामा गोली हानेर पम्चट बनाएपछि पक्राउ गरेको हो । भाग्ने क्रममा लुकेर बसेको अवस्थामा सुरक्षाकर्मीको टोलीले केही व्यक्तिहरुलाई भने सखुवाप्रसौनीमा रहेको बाख्रापालन फार्म हाउसबाट नियन्त्रणमा लिएको हो ।मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको बाख्रा फार्म हाउसबाट सेनाको टोलीले गाडेको अवस्थामा चित्तलको टाउको, बन्दुक, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो ।त्यसैगरी सुरक्षाकर्मीको टोलीले फार्महाउसमा छापा मारेर उनीहरुले प्रयोग गरेको एउटा ल्याण्डक्रुजरसहित २ वटा गाडी र शिकारमा प्रयोग हुने बन्दोबस्तिको सामाग्री पनि बरामद गरेको थियो । सेनाले गाडीसहित शिकार गरी मारेको जरायोर चित्तलको टाउको लगायतका सामग्री बुझाएपछि निकुञ्जले अनुसन्धान अघि बढाएको थियो ।बरामद भएको बन्दुक र एउटा गाडी काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य खड्काको नाममा रहेको खुलेपछि थप अनुसन्धानको लागि उनलाई पनि बोलाइएको स्रोतले जनाएको छ । काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी छ । अर्को एउटा गाडी धनीको बारेमा थप जानकारी लिन निकुञ्जले यातायात व्यवस्था विभाग वीरगन्जमा पत्राचार गरी पठाएको आरक्षका सूचना अधिकारी सूर्य खडकाले बताउनुभयो ।त्यसैगरी सिकार खेल्न प्रयोग भएको अर्को प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी जयसवाल इन्टरप्राइजेजको नाममा रहेको निकुञ्ज स्रोतको दावी छ । सो इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता रहेको छ । त्यसैले उनलाई समेत निकुञ्जले अनुसन्धानको लागि बोलाएको हो ।निकुञ्जका सूचना अधिकारी खड्काले पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा अन्य केही व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्नका लागि बोलाइएको जानकारी दिनुभयो । ‘पक्राउ परेका व्यक्तिहरुले बयानका क्रममा नाम पोलेका सबै जनालाई अनुसन्धानका लागि बोलाएका छौं ।’ उहाँले भन्नुभयो ।निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ (पाँचौ संशोधन) अनुसार वन्यजन्तु चोरी निकासी मुद्धा अन्तर्गत यो घटनाको अनुसन्धान गरिरहेको छ । अनुमति नलिई निकुञ्जभित्र वन्यजन्तुको शिकार गर्नु कानुन विपरीत हो ।संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । बरामद सबै सामग्री परीक्षणको लागि वस्तु निकुञ्जले विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

Leave a Reply