निजगढ,अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेपछि निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपाकिलाका शिक्षण संस्थाहरु बिहीवारबाट ३ दिनको लागि बन्द हुने भएका छन ।बढ्दो गर्मीका कारण पठनपाठनमा असहज भएको र बालबालिकाहरुको स्वास्थ्यमा समेत प्रभाव परिरहेको भन्दै निजगढ नगरपालिकाले बिहीवारबाट शनिवारसम्म ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरको हो ।निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम लामिछानेले बुधवार जारी गरेको सूचनामा केही दिनदेखि यस क्षेत्रमा बढदै गएको अत्याधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन कार्यमा असहज हुनगइ बालबालिकाको स्वास्थ्यमा समेत पर्न सक्ने असहज प्रभावलाई मध्यनजर गर्दै नगर शिक्षा समितिको बैठकको निर्णयअनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक र सस्थागत विद्यालयमा जेष्ठ १८ र १९ गते पठनपाठन बन्द गरिएको जनाइएको छ ।त्यसैगरी गर्मी बढेपछि जीतपुरसिमरा उपमहानगरले उपमहानगरभित्रका सम्पुर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरले जेष्ठ १८ गतेदेखि जेष्ठ २० गतेसम्मको लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको हो ।अत्याधिक गर्मी बढेको कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने थालेको गुनासो आएपछि उपमहानगरपालिकाले बुधवार सूचना गरेर बर्खे विदामा समायोजन हुनेगरि उपमहानगरले विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।उता, वीरगञ्जका विद्यालयहरु पनि एक साताको लागि बन्द हुने भएका छन । वीरगञ्ज महानगरपालिकामा रहेका शिक्षण संस्थाहरु शुक्रवारदेखि ८ दिनका लागि बन्द हुनेभएका छन् ।वीरगञ्ज महानगरपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै जेठ १९ देखि जेठ २६ सम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पैडेलले जारी गरेको सूचनामा बढ्दो गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि ८ दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।अत्याधिक गर्मीका कारण पर्साका विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामै बेहोस पनि हुन थालेका छन् ।पर्सा, बारालगायत मधेस प्रदेशका जिल्लामा पछिल्लो एक सातायता गर्मी अत्याधिक बढिरहेको छ । यस क्षेत्रमा तापक्रम बढेर अधिकतम ४० देखि ४४ डिग्री सेल्सियससम्म पुगेको छ । जसका कारण यस क्षेत्रको जनजीवन नै प्रभावित भएको छ ।बुधवार पर्साको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा एक जना छात्रा गर्मीका कारण बेहोस भएकी थिइन । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधवार एक छात्रा कक्षा कोठामै बेहोस भएकी हुन् ।कक्षा ४ मा अध्ययनरत साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधवार बिहान ९ बजे कक्षा कोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाषप्रसाद दासले बताउनुभयो । उनलाई उपचारका लागि वीरगञ्जको अस्पतालमा पठाइएको दासले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here