निजगढ,निजगढ नगरपालिका– ७ बाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।निजगढ नगरपालिका– ७ का प्रशान्त लामाको घर आँगनमा पार्किङ गरेर राखेको गौरीशंकर क्याम्पस निजगढका स्ववियु सभापती बालकृष्ण हुमागाईको यामाहा एफजेडएस ना. प्र. ०३ प ७५१० नम्बरको मोटरसाइकल गत असार २४ गते राति चोरी भएको थियो । मोटरसाइकल हराएपछि लामाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनुभएको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा असार ३१ गते निजगढ– ७ स्थित योजना टोलमा २५ वर्षीय चमन मगरलाई शंकास्पद अवस्थामा हिँडिरहेकै बेला नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । प्रारम्भिक बयानमा चमनले मोटरसाइकल आफैँले चोरी गरेर रौतहटको गुजरा नगरपालिका– २ का २३ वर्षीय रोशन मगरलाई बेचेको स्वीकार गरेका थिए । प्रहरीले पक्राउ गरेपछि रोशनले पनि उक्त मोटरसाइकल रौतहटको गरुडा नगरपालिका– २ स्थित झाझपुल चोकमा रहेको न्यु राजन वर्कशप सञ्चालक ३० वर्षीय रामप्रवेश महरालाई ३१ हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए ।
इलाका प्रहरी कार्यालय गरुडासँगको समन्वयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले रामप्रवेशको घरमा नम्बर प्लेट हटाएर राखिएको अवस्थामा सो मोटरसाइकल फेला परेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । प्रहरीले मोटरसाइकलको इन्जिन नम्बर र च्यासिस नम्बर जाँच गदाँ चोरी भएको सोही मोटरसाइकल गरेको पुष्टि गरेको थियो ।बरामद मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई चोरीसम्बन्धी कसुरमा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय निजगढले बुधवार जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर कारबाहीअगाडि बढाइएको जनाएको छ ।


















