काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने छ ।

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ ।

मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको हो । नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् ।

चुनावमा ५.०६ प्रतिशत मत बदर

काठमाण्डौ – निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताएको छ ।

सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मङ्सिर ४ गते सम्पन्न चुनावमा खसेको मतको ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताउनुभएको हो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको बताउनुभयो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो ।

त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको आयोगका उपसचिव भट्टराईले बताउनुभयो । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४ दशमलव ०७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५ दशमलव ७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा ४ दशमलव १६ प्रतिशत मत बदर भएको छ ।

आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५ दशमलव ०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ दशमलव ०९ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ दशमलव ०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ दशमलव ५५ प्रतिशत मत बदर भएको उहाँले बताउनुभयो ।

भट्टराईले समग्र ६१ दशमलव ४१ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । सबैभन्दा बढी मधेस प्रदेशमा ६५ दशमलव ७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव ८० प्रतिशत मतदान भएको उहाँको भनाइ छ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ छ । त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१ दशमलव ३५, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१ दशमलव ३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१ दशमलव ३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताउनुभयो ।

Leave a Reply