नेपाली राजनीतिमा गज्जबको खिचडी पाक्ने गर्दछ । कहाँ कतिबेला के हुन्छ यसै भन्न सकिन्न । तैपनि कार्यकर्ता तहमा हेर्ने हो भने अझै पनि आपसमा मारपिट नै देखिन्छ । सोमवार बिहान एकाएक भएको सत्ताको अर्को गठबन्धनले आम नेपाली जनतालाई खासै आश्चार्यमा त पारेको छैन यद्यपि यो पनि कतिदिनका लागि हो भन्ने चै परेको छ ।

करिब प्रन्ध महिनाअगाडि प्रधानमन्त्रीको कुर्सीमा पुगेका प्रचण्डको तत्कालिन प्रस्तावक पनि केपी ओली नै रहनुभएको थियो तर त्यो समीकरण क्षणभरमा नै टुटेको थियो । त्यसो त कुनैबेला ओली र प्रचण्ड एउटै पार्टीमा पनि थिए ।
जनताले यो कुरा चैं राम्रोसंग बुझेका छन् । अब फेरि एक प्रकारले भन्ने हो भने कम्युनिष्टहरु एक ठाउँमा आएका छन् । नयाँ दल पनि यही ठाउँमा आएको छ । शुरुका दिनमा पनि यही समीकरण बनेको थियो तर धेरै दिन टिकेन । अब यो अलिक दिन त टिक्ला तर यसले देश र जनतालाई के दिन्छ भन्ने चैं महत्वपूर्ण कुरा हो । प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा रहदैमा र केही थान मन्त्री फेरिदैमा आम नागरिकहरुको जीवन स्तरमा भने परिवर्तन आउने संभावना चैं छैन ।
केही गर्छु भन्ने भाव लिएको नयाँ दल पनि सरकारमा सहभागी भएकाले यो बेलामा प्रचण्डको प्ुच्छर निमोठेर भएपनि केही गरेर जनताको मन जित्न आवश्यक छ । एमाले र माओवादीबाट जनताले खासै आश गर्ने छैनन् किनभने उनीहरुले पटक पटक अवसर पाएका थिए तर गर्न नसकेकै हुन् । नगरेकै हुन् । त्यसैले अब करिब चार वर्ष यो सरकारको समय रहेकोमा यो अवधिमा मज्जाले काम गरेर जनताको मन जित्न आवश्यक छ । नत्र हात्ती आयो हात्ती आयो पुस्सा भनेजस्तो हुने निश्चित छ ।


















