निजगढ,निजगढको गौरीशंकर क्याम्पसमास्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी चयनको लागि मंगलवार भएको मतदानमा निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ ।कुल ३६८ जना मतदाता मध्ये ३३४ जनाले मतदान गरेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत गोविन्द अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीहरुको यो सहभागिता उत्साहाजनक रहेको उहाँको भनाई छ ।
निर्वाचनमा ६०÷७० प्रतिशतसम्म मात्रै मतदान हुने अनुमान गरिएको थियो । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनावमा खडा भएका विद्यार्थी संगठनहरुले निजगढ नगरबाहिर रहेका मतदाताहरुलाई पनि झिकाएका थिए । विभिन्न पेसा व्यवसायको क्रममा क्याम्पसमा मतदाता रहेका १ सयभन्दा बढी विद्यार्थीहरु हाल नगरबाहिर रहेको बताइएको छ ।
बिहान ९ बजेबाट शुरु भएको मतदान दिउसो ४ बजेसम्म चलेको थियो । निर्वाचन समितिले बिहान ८ बजेबाट शुरु गर्ने सूचना दिएको भएपनि १ घण्टा ढिला गरी मतदान प्रारम्भ भएको थियो ।
यसैबीच विद्यार्थी संगठनहरुबीच सहमति हुननसक्दा मतगणना स्थगित भएको छ । निर्वाचन समितिले राति १२.३० सूचना निकालेर गणना कार्य स्थगित गरिएको जनाएको हो । माउ पार्टीका स्थानीय नेताहरुलाई पनि राखेर मत गणना गर्नुपर्ने नेविसंघ र अखिल क्रान्तिकारीको माग अनेरास्ववियुले अस्वीकार गरेपछि मतगणना कार्य अवरुद्ध बनेको थियो ।
निर्वाचनबाट क्याम्पसमा प्रतक्ष्य र समानुपातिकतर्फबाट एकजना सभापती, उपसभापती, सचिव, सहसचिव, कोषाध्यक्ष र १० जना सदस्य चुनिने छन । निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बालकृष्ण हुमागाई, नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जन र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले उज्जल प्रसाई नेतृत्वमा प्यानल उम्मेदवार खडा गरेका छन ।बारा जिल्लामा रहेका७ वटा सामुदायिक क्याम्पस मध्ये निजगढको गौरीशंकर क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको हो ।
















