निजगढ,निजगढ नगरपालिकाले आइतवारबाट पालो प्रणालीमा राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा शुरु गर्ने भएको छ ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले शुक्रवार एउटा सूचना निकालेर नगरपालिका कार्यालयमा यही असार २२ गते आइतवारदेखि शुरु हुने राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने र दरखास्त फारम भर्ने कार्यमा प्रतेक वडाका सेवाग्राहीको संख्या र सोको लागि फरकफरक दिनको पालो तोक्नुभएको हो ।
सूचनामा प्रतेक हप्ताको आइतवार, सोमवार र मंगलवार वडा नम्बर १, २, ३, १०, ११, १२ र १३ तथा बुधवार, बिहीवार र शुक्रवार वडा नम्बर ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका सेवाग्राहीहरुको लागि हरेक दिन ५० जनासम्मलाई मात्र सेवा प्रदान गर्ने गरी पालो मिलाएको जनाइएको छ ।

अधिकृत अर्यालले सिमित जनशक्ति र उपकरणका कारण एक दिनमा बढीमा ५० जना सेवाग्राहीको मात्र फोटो खिच्न नभ्याइने भएकाले संख्या तोकेर वडा÷वडाको आलोपालो सिस्टम मिलाइएको बताउनुभयो । उहाँले तोकिएको पालोमा नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, बाबु÷आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (उपलब्ध भएसम्म), नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका-नगरपालिकाको सिफारिस, राहादानी लिएको भए सोको सक्कल वा प्रतिलिपिसहित उपस्थित भएर सेवा लिनुपर्ने बताउनुभएको छ ।
त्यसैगरी बसाँइसराइ गरेकाको हकमा बसाँइसराइ दर्ता प्रमाणपत्रको सक्कल प्रति, विवाहितको हकमा नागरिकता प्रमाणपत्रमा पति÷पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्रको सक्कल प्रति, श्रीमान÷श्रीमती मध्ये कुनै एकको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्रको सक्कल प्रति जस्ता कागजपत्र पनि आवश्यक पर्ने उहाँले जानकारी दिनुभएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आग्रहमा जिल्ला प्रशासन कार्यालय बाराले परिचयपत्र निर्माणको लागि अपरेटर विकेशकुमार केशरीलाई निजगढमा खटाएपछि नगरपालिका कार्यालयले सेवा शुरु गर्न लागेको हो ।

Leave a Reply