कलैया,नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको पदाधिकारी र सदस्यहरुको चयन गर्न भएको निर्वाचनको जारी मतगणनामा समावेशी क्लस्टरको गणना सोमवार सकिएको छ ।

आदिवासी जनजाति, मुस्लिम र दलित क्लस्टरबाट चुनिने ११ जना जिल्ला सदस्य पदका उम्मेदवारहरुको मतगणना पुरा भएको हो । निर्वाचन कमिटीले दिएको जानकारीअनुसार जनजातितर्फको खुल्लाबाट चुनिने २ जना सदस्यमा जितनारायण चौधरी र धिरेन्द्र चौधरी विजयी भएका छन । जितनारायण २६१ र धिरेन्द्रले २१३ मत पाएर विजयी बनेका हुन । यो क्लस्टरमा युवा र महिला सदस्य भने निर्विरोध चयन भएका थिए ।

त्यसैगरी मुस्लिम खुल्ला सदस्यतर्फबाट कलामुद्दिन अन्सारी र सेराज महमद, मुस्लिम महिलामा नासिमा खातुन र सिमा खातुन विजयी भएका छन । त्यस्तै सोही क्लस्टरको मुस्लिम युवातर्फ भने फरमुल्लाहा मन्सुर विजयी भएका छन । दलित खुल्ला सदस्यमा दशरथ राम र शर्मा बैठा तथा दलित महिलामा फुलमति पासवान र मिना सुनार विजयी भएका छन ।
पालिकातर्फको सदस्य पदको मत गणना भने मंगलवारबाट शुरु हुने भएको छ । जसअनुसार जिल्लाका १६ मध्ये ९ वटा पालिकाबाट समावेशी आधारमा सदस्यहरु चयन भएर आउने छन । अध्यक्षसहित जिल्ला कमिटीका ५ जना पदाधिकारीहरुको मत परिणाम भने शनिवार नै सार्वजनिक गरिएको थियो । एमाले बारा अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी हुुनुभएको छ ।निर्वाचनमा जिल्ला कमिटीका पूर्व सचिव पाण्ड्ये र पूर्वउपाध्यक्ष टिना सुवेदी छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका थिए ।कुल ८३३ मतदातामध्ये निर्वाचनमा ७२० जनाले मतदान गरेका थिए ।

Leave a Reply