कलैया,मधेस प्रदेशको बारा र पर्सा जिल्लामा राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको अनलाइन फारम पालिकाबाट नैं भरिने व्यवस्था गरिएको छ ।
दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अबदेखि सम्बन्धित पालिकाबाट नैं राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको अनलाइन फारम भर्ने व्यवस्था गरिएको जनाएका छन् ।
बारा जिल्लामा सम्बन्धित पालिकाबाट नैं राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । ईपासपोर्टको लागि प्रिइनरोलमेन्टपछि आइतवारदेखि बिहीवार बिहान १० देखि ५ र शुक्रवार १० देखि ३ बजेसम भेरिफिकेसनको समय तोकिएको उहाँले बताउनु भयो ।
साथै राष्ट्रिय परिचयपत्रको अनलाईन फारम सम्बन्धित पालिकाबाट निःशुल्क रूपमा भरेर टोकन प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । टोकन अनुसार दैनिक १२० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी पर्सामा पनि रहेको १४ वटै पालिकामा राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको अनलाइन फारम भर्नको लागि कर्मचारी तथा उनीहरूको सम्पर्क नम्बर समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा वीरगन्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकामा दुई÷दुई जना राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको अनलाइन फारम भर्ने व्यक्तिलाई तोकिएको छ । भने अन्य पालिकाहरुमा एक एकजना व्यक्तिहरुलाई तोकिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अबदेखि आफ्नैं पालिकामा राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको अनलाइन फारम भरेर मात्रै जिल्ला प्रशासनमा बायोमेट्रिकको लागि जानुपर्ने जिल्ला प्रशासनले सूचनामार्फत जनाइएको छ ।

















