गोकुल घोरसाइने
निजगढ,आफन्त वा मन मिल्ने साथीको मृत्युको समाचार रेडियो वा टेलिभिजनमा प्रस्तुत गर्नुपर्दा वाचकलाई कस्तो पीडा हुन्छ होला ? शायद, संसारमा केही थोरै मान्छेले मात्रै यस्तो दर्दनाक अनुभूति गरेका होलान ।तर सामुदायिक रेडियो निजगढ १०७.२ मेगाहर्जकी समाचार वाचिका लक्ष्मी पाण्डे (मनिता) ले शनीवार बिहान साथी रवि सापकोटाको मृत्युको खबर पढ्नुपर्दा त्यस्तै पीडा भोग्नुपरेको थियो । रेडियोबाट हरेक बिहान ५.३० बजे प्रशारण हुने ‘निजगढ सामुदायिक खबर’ प्रस्तुत गर्ने क्रममा लक्ष्मीले बेहोरेको पीडाको दृश्य रेडियोको फेसबुक पेजको भिडियो लाइभमा प्रष्टै देखियो ।
सिसिटीभि क्यामरा जडान गर्नेक्रममा करेन्ट लागेर अघिल्लो राति ज्यान गुमाएका निजगढका रविको घटनाको समाचार वाचन गर्ने क्रममा लक्ष्मीको आँखाबाट आँसुको धारा बगेको देखिन्थ्यो । पीडामा भक्कानिएकी लक्ष्मीले बिचबीचमा समाचार रोकेर हातले आँसु पुछेको दृश्य फेसबुक लाइभमा देखिएको थियो ।
अघिल्लो राति नै भएको घटनाको जानकारी लक्ष्मीले रेडियोको समाचार पढ्न शुरु गरेपछि मात्रै पाएकी थिइन । ‘रविको मृत्युको घटनाबारे केही पनि थाहा थिएन, लक्ष्मीले भन्नुभयो, कम्प्युटर खोलेर समाचार पढ्न थालेपछि मन भक्कानिएर आयो, थाम्नै सकिन आँखाबाट आँसु झर्न थालेछन ।’एकदमै मिल्ने साथीको त्यस्तो दुःखद समाचार अचानक पढ्नुपर्दा आफु निक्कै विक्षिप्त बनेको लक्ष्मीले बताउनुभएको छ । ‘समाचार नै बन्द गरौं कि भन्ने जस्तो पनि लागेको थियो, लक्ष्मीको भनाई छ– तर घटनाबारे रेडियोका स्रोतालाई जानकारी गराउनुपर्ने कतव्र्य सम्झेर जसोतसो समाचार पुरा गरेँ ।’ रेडियोको फेसबुक पेजसंगै मनिताको व्यक्तिगत टिकटक आइडीबाट समेत प्रतक्ष्य प्रशारण भएको उक्त समाचारको भिडियोको रिकर्ड शनीवार साँभसम्ममा ३५ हजारभन्दा बढीले हेरिसकेका छन । रेडियो निजगढको पेजबाटमात्रै २० हजारले भिडियो हेरेको पाइएको छ ।
विगत डेढ दशकदेखि रेडियोमा नियमित समाचार वाचन र कार्यक्रम प्रस्तुत गर्दै आउनुभएकी लक्ष्मीले रेडियोको प्रशारण कक्षभित्र लाइभ कार्यक्रममा पहिलो पटक यस्तो दुःखद अनुभूति गर्नुपरेको बताउनुभएको छ । उहाँले अरु कुनै समाचार वाचकले यस्तो नियति बेहोर्नु नपरोस भन्ने कामना पनि गर्नुभएको छ ।निजगढ ९ की लक्ष्मी र निजगढ ८ का रवि बाल्यकालेखिकै मन मिल्ने साथी थिए । उनीहरु दुबै जना युथ अफ निजगढ नामक संस्थामार्फत निजगढमा समाजेवामा पनि सक्रिय थिए । लक्ष्मी हाल युथ अफ निजगढकी महासचिव हुन भने रवि संस्थाको कोषाध्यक्ष पदमा कार्यरत थिए । ‘संस्थामा सबै साथीहरु मिनलसार र सहयोगी छन, लक्ष्मीले भन्नुभएको छ, त्यसमा पनि रवि विशेष खालका थिए, तर दैवले पनि यस्तै मान्छेमाथि नै आँखा लगाउँदो रहेछ ।’ रविकै आग्रहमा आफूले संस्थाको महासचिवको जिम्मेवारी लिएको पनि उहाँले सुनाउनुभयो ।
निजगढ ५ स्थित प्रतिक्षा टोलमा सिसिटिभीको क्यामेरा जडान गर्नेक्रममा करेन्ट लागेर घाइते भएका ३४ वर्षका रविको शुक्रवार राति मृत्यु भएको थियो । घाइते सापकोटाको उपचारको लागि बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा राति ८ः५१ बजे निधन भएको थियो ।
स्थानीय प्रतक्ष्यदशीका अनुसार सिसिटिभी जडान गर्ने क्रममा भ¥याङ्ग राखेर विजुलीको पोलमा चढेका रवि करेन्ट लागेपछि माथिनै अडकिएका थिए । तल बसेका सहयोगी र स्थानीयले भ¥याङ खसालेर भूइँमा झारेपछि निजगढको सामुदायिक अस्पतालबाट थप उपचारको लागि वीरगञ्जतर्फ लैजादै गर्दा उनको बाटोमा नै मृत्यु भएको थियो ।
चितवनको भण्डाराबाट २ दशकभन्दा अघि निजगढ आएका रविको परिवारका अन्य सदस्य अहिले पनि उतै बसोबास गर्छन । निजगढ ९ स्थित नेपाल केबुल नेटका कर्मचारी रविले ३ वर्षअघि निजगढमै विवाहा गरेका थिए । उनको परिवारमा श्रीमती र ५ महीनाका १ छोरा छन ।



















