कलैया,यातायात व्यवस्था कार्यालय बाराले कलैयाबाट सवारी अनुमति पत्र (लाइसेन्स) पनि वितरण गर्ने भएको छ । कार्यालय स्थापना भएको ३ महिनापछि लाइसेन्स वितरणको तयारी शुरु भएको हो ।मधेस प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिनुभयो । यसअघि सवारी दर्ता, लाइसेन्स नवीकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख हुसेनले बताउनुभयो । उहाँका अनुसार अव मोटरसाइकल, स्कुटरदेखि जीप, कार, अटोरिक्सा ट्याक्टर जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको बताउनुभयो ।

अख्तियारी पाएसँगै सवारी साधनको लाइसेन्सको लागि फाराम खुल्ला भइसकेको पनि हुसेनले जानकारी दिनुभयो । अव सबै प्रक्रिया पुरा गरेर लाइसेन्स वितरणको कार्य सुरु गरिने उहाँको भनाई छ । लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको छ ।यसको लागि कार्यालय नजिकै रहेको कलैया ३ गंगापुरस्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको र नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सो ट्रायल सेन्टर सञ्चालनमा आएको कार्यालय प्रमुख हुसेनले बताउनुभयो । कार्यालयबाट सुरुमा हलुका सवारीको लाइसेन्स वितरण गर्ने र त्यसपछि बिस्तारै सबैखाले सवारी साधनको लाइसेन्स वितरण गर्ने योजना रहेको बताइएको छ ।

यसअघि यातायात कार्यालय बारालाई लाइसेन्स वितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको थियो ।कलैयामा २०८० मङ्सिर २५ गते यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।

Leave a Reply