दुष्यन्त चौधरी
कलैया – अमेरिकामा बस्ने नेपाली थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले बलात्कारपछि हत्या गरिएकी सिमराकी गरिमा चौधरीको परिवारलाई १ लाख ७५ हजार आर्थिक सहयोग गरेको छ । टीएफका प्रतिनिधि वीरेन्द्र चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका– १ स्थित निवासमा पुगेर गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीलाई सोमबार सो रकम हस्तान्तरण गर्नुभएको हो ।
टीएफका अनुसार मानवीयताका हिसाबले गरिमा चौधरीका अभिभावकलाई आर्थिक सहयोग गरिएको हो । टीएफका प्रतिनिधि चौधरीले उक्त रकम हस्तान्तरण गर्दै आफूहरू न्यायको पक्षमा उभिएको बताउनुभयो । उहाँले जघन्य अपराधमा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । त्यस्तै संस्थाका अध्यक्ष सुरेन्द्र चौधरीले न्यायिक लडाइँमा थारू समुदायको साथ समर्थन रहनुपर्ने बताउनुभयो । उहाँले आर्थिक सहायता जीविकोपार्जनका निम्ति प्रदान गरिएको जनाउनुभयो । ‘तिन वर्षीय बालिकामाथि जुन अपराध भएको छ, त्यो कुनै पनि हिसाबले क्षम्य हुन सक्दैन ।
हाम्रो मानवीयताको दृष्टिले परिवारको जीविकोपार्जनका निम्ति उक्त सहयोग प्रदान गरिएको हो ।’ उहाँले भन्नुभयो ।
सो अवसरमा गरिमका बुबा मनोज चौधरीले आफूहरू न्यायाको पर्खाइमा रहेको बताउनुभयो । उहाँले सरकारले पनि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । ‘विपत्ति बेला हो यो, मैले पनि बुझेको छु, उहाँले भन्नुभयो, तर सरकारले हामीसँग गरेको सम्झौताको कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले नयाँ कानुन बनाएर दोषीलाई कडाभन्दा कडा सजाय तोकिनुपर्ने उहाँको भनाइ छ ।
सरकारसँग कुनै रकम नलिएको र त्यसखालको सम्झौता पनि नगरेको उहाँको भनाइ छ । तर, सामाजिक सञ्जालमा पैसा लिएकोबारे भ्रम सिर्जना गरिएकोप्रति उहाँले दुखेसो पोख्नुभयो । उहाँले आफ्नी छोरीको न्यायभन्दा ठूलो कुरा आफ्ना लागि केही नभएको पनि बताउनुभयो । साउन ३१ गते बिहान घरबाट हराएकी गरिमाको शव तीन दिनपछि घरबाट करिब १५० मिटर दक्षिणतर्फ रहेको खाली घरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
















