सिमरा,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गर्दै आएको “राष्ट्रिय पुरस्कार” यस वर्ष बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका– ४ औराहा निवासी शंकर सिम्खडाले प्राप्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आत्मनिर्भर बनेका उद्यमशील नागरिकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मन्त्रालयले हरेक वर्ष ७५ हजार राशीको यो पुरस्कारबाट सम्मानित गर्ने गरेको छ ।

राजधानी काठमाडौंमा बुधवार आयोजित एक विशेष समारोहमा सिम्खडालाई पुरस्कारबाट सम्मानित गरिएको हो ।
वैदेशिक रोजगारीबाट फर्केपछि नेपालमैं बसेर आफ्नै लगानीमा उद्यम सञ्चालन गरी रोजगारी सिर्जना तथा आत्मनिर्भरताको उदाहरणीय कार्य गर्नुभएका सिम्खडालाई नगद रू ७५,००० र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रममा मन्त्री, सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा मन्त्रालयले सिम्खडासहित देशका विभिन्न भागबाट छनौट गरिएका १० जना सफल उद्यमीहरूलाई सम्मान गरेको छ । वैदेशिक रोजगारीको क्रममा लामो समयसम्म खाडी मुलुकमा काम गर्नुभएका सिम्खडाले नेपाल फर्किएर स्थानीय स्रोत र सीपको उपयोग गर्दै कृषि तथा पशुपालनमा आधारित उद्यम सञ्चालन गर्दै आउनुभएको छ ।

Leave a Reply