वीरगन्ज,पथलैया– अमलेखगन्ज सडकखण्डमा सवारीसाधनको चाप बढेकाले बाघको हिँडडुलमा बाधा पुगेको एक अध्ययनले देखाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको एउटा भाले बाघमा रेडियो कलर जडान गरेर ६ महिनादेखि जारी अनुगमन र अध्ययनले यस्तो देखाएको हो । वन मन्त्रालय, अमेरिकी युनिभर्सिटी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त लगानीमा बाघको गतिविधि निगरानी गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार बाराको हल्खोरिया दह क्षेत्रमा बस्दै आएको करीब ८ वर्षको उक्त भाले बाघमा गत फेब्रुअरी १४ तारेखमा डाट गरेर रेडियो कलर जोडिएको थियो ।

दोस्रो चरणको निषेधाज्ञामा उक्त बाघले धेरैपटक त्रिभुवन राजपथ वारपार गरेर निकुञ्जको पूर्वपश्चिम क्षेत्रमा आवागमन गरेको पाइएको छ  । निषेधाज्ञाअघि भने उक्त बाघ राजमार्ग पार गरेर निकुन्जको पश्चिम क्षेत्रमा एकपटक पनि आएको नदेखिएको भन्दै साहले तर निषेधाज्ञामा राजमार्गमा सवारीसाधनको चाप घटेपछि उक्त बाघले एकदर्जन भन्दा बढी पटक आवागमन गरेको देखिएको बताउनुभयो । यसले बाघ मात्र नभई अन्य वन्यजन्तुको निर्वाध आवागमनमा पनि राजमार्गमा गुड्ने सवारीसाधनको अत्याधिक चापले धेरै अवरोध गरेको पुष्टि हुने साहले बताउनुभयो  ।

एक साताअघि उक्त बाघ निकुन्जको पश्चिमी भागबाट त्रिभुवन राजपथ पार गरेर बाराको रतनपुरीतर्फ लागेको देखिएको छ । करिब ४ वर्षअघि हल्खोरिया दह क्षेत्रसंगै बाराको राष्ट्रिय वनको ठूलो भाग गाभिएर आरक्ष निकुञ्जमा स्तरोन्नति भएपछि बिस्तारित क्षेत्रमा बाघको गतिविधि बढेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख संरक्षण अधिकृत डा. आशिष गुरुङले पर्सा निकुञ्जमा पहिलोपटक रेडियो कलर जडान गरेर बाघको गतिविधि निगरानी गरिएको बताउनुभयो । संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या झण्डै ४ गुणाले बढेको छ ।

सन् २००९÷२०१० मा गरिएको गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा केवल ४ बयस्क बाघ रहेकोमा हाल त्यो संख्या १९ पुगेको छ । संख्या वृद्धिसंगै बाघहरु आहाराको खोजीमा निकुञ्ज आसपासको राष्ट्रिय वनमा समेत प्रवेश गर्ने गरेका छन् । गत बर्ष पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ बर्ग किलोमीटर क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको पनि प्रमुख बासस्थान हो ।

Leave a Reply