रौतहट,देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिव परिवारका ५० युनिटसम्मको विद्युत महसुल नगरपालिकाले तिर्ने भएको छ । देवाही गोनाही नगरपालिकाले कार्यपालिकाको बैठकबाट उपभोक्ताहरुले प्रयोग गरेको ५० युनिटसम्मको विद्युत महसुल तिर्ने निणय गरेको हो ।
देवाही गोनाही नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिलको रकम नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताउनुभयो । देवाही गोनाही नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपमख कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई ५० युनिटसम्म खपत विद्युत महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख प्रेमलाल साह कानुले जानकारी दिनुभयो ।
चुनावमा आफ्नो घोषणापत्र अनुसार उपभोक्ताको विद्युत महशुलको रकम तिर्ने निर्णय गरिएको नगर प्रमुख कानुले बताउनुभयो । निःशुल्क विद्युत योजनाको लाभ लिने उपभोक्ताले योजना लागु हुने समयभन्दा अगाडिको बिल भने भुक्तानी गरेको हुनुपर्ने समेत उहाँले बताउनुभयो ।
जनताले आफूहरुलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरुले अब जनताको सुविधाका लागि ध्यान दिने नगर प्रमुख कानुले बताउनुभएको छ । नगर प्रमुख कानुले आफू पनि भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले सोही वर्गको हितमा काम गर्ने बताउनुभएको छ ।
५० युनिटभन्दा बढी विद्युत खपत गर्नेहरुले भने बढी बिल आफैले तिर्नुपर्ने देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताउनुभयो । यो सुविधा लिने उपभोक्ताहरुले मिटर रिडिङ भएलगतै सम्बधित वडा कार्यालय वा नगरपालिकामा बिल बुझाउन नगरपालिकाले अनुरोध गरेको छ ।