निजगढ,निजगढ नगरपालिका– ५ को आयोजनामा क्षय रोगमुक्त नेपाल घोषणा अभियान अन्तर्गत वडास्थित सरोकारवालाहरुसंग छ्लफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नम्बर ५ ले बारा जिल्लामै पहिलो पटक वडा स्थित सरोकारवालाहरुसंग क्षयरोग सम्बन्धि छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।निजगढ नगरपालिका– ५ का वडाध्यक्ष सुर्यबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु तथा वडाबासीहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमलाई निजगढ नगरपालिकाको स्वास्थ्य शाखा उपप्रमुख मणीश्वर घिमिरे र निजगढ नगरपालिकाको क्षयरोग मुक्त नगरपालिका घोषणा कार्यक्रमका क्षय रोग कार्यक्रम अधिकृत सृजना तिवारीले कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने कार्यक्रमको सहजीकरण वडा सचिव धर्मराज लामिछानेले गर्नुभएको थियो ।नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षय रोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ ।
नेपालमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा देखापरेको भए पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख घिमिरेले बताउनुभयो । महिलाभन्दा पुरुषमा क्षय रोगको जोखिम बढी देखिने गरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले क्षय रोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशिका २०७८ जारी गरे पनि वर्षेनी क्षयरोगका बिरामी थपिने गरेको क्षयरोग कार्यक्रम अधिकृत सृजना तिवारीले बताउनुभयो । क्षयरोग कार्यक्रम अधिकृत तिवारीले, ‘क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आएर दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षय रोगीको संख्या घट्न सकेको छैन ।’ उहाँले एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुने भएकोले क्षयरोग जस्ता रोग लागेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकिमा उपचार गराउन क्षयरोग कार्यक्रमलाई सहयोग गर्न तिवारीले आग्रह गर्नुभयो । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिने बित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको उहाँको भनाई रहेको थियो ।निजगढ नगरपालिकामा आर्थिक बर्ष २०८०-०८१ मा ११० जनामा क्षयरोग देखा परेको र जसमध्ये ४ जना वडा नम्बर ५ को रहेको कार्यक्रममा जानकारी गराइएको थियो । क्षयरोग सम्बन्धि वडास्थित सरोकारवालाहरुसंगको छलफल तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगरले निजगढ नगरपालिकाले बारा जिल्लामै सबैभन्दा पहिला यस्तो कार्यक्रम आयोजना गरेको बताउनुभयो । निजगढ नगरपालिका– ५ को कुनै पनि बासिन्दामा क्षयरोग सम्बन्धि लक्षण देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
क्षयरोग एउटा सरुवा रोग भएकोले यसले एक ब्यक्ति बाट अर्को व्यक्तिमा सजिलै संग सर्ने भएकोले सबैले समयमै यस्तो रोगलाई रोक्नको लागि हातेमालो गरेर वडालाई मधेस प्रदेशमै सबैभन्दा पहिला क्षयरोगमुक्त वडा घोषणा गराउनुमा लाग्नु पर्नेमा जोड दिनुभयो । उक्त छ्लफल तथा अभिमुखीकरण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा सदस्य आशा चौलागाईं, सबिता दर्जी कुन्जमणी सापकोटा, लिलानाथ गौतमलगायत स्थानीयको उपस्थिति रहेको थियो ।



















