मनहर्वा,बाराको कलैया( पिलुवा सडक खण्डमा प्रतिघण्टा ४० किमीभन्दा तीव्र गतिमा सवारीसाधन गुडाउन नपाइने भएको छ । तोकिएभन्दा बढी गतिमा सवारी चलाएको पाइए हदैसम्मको कारबाही हुने ट्राफिक प्रहरीले बताएकोछ ।
गति नियन्त्रणको बारेमा जानकारी दिन जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत ७ किलोमीटर दुरीको ८ स्थानमा जानकारी बोर्ड राखिएको छ ।
तीव्र गतिका कारण सडकखण्डमा दुर्घटना हुने क्रम बढेपछि नियन्त्रणको लागि सवारी साधानको गति नियन्त्रण गर्न लागिएको ट्राफिक प्रहरी सहायक निरीक्षक ठाकुर भट्टराइले बताउनुभयो । नियमको उलंघन गर्ने सवारीसाधनलाई हदैसम्मको कारबाही गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार तीव्र गतिका सवारी दुर्घटनामा परि यात्रुहरु र स्थानीय बालबालिका, युवादेखि बुढापाका मानिसको समेत ज्यान जान थालेपछि केही समययता स्थानीयबासिन्दा चिन्तित हुदै आएका छन । ‘दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन, स्थानीय ले बताउनुभयो, सवारीका यात्रु र गाउँलेले अकालमा ज्यान गुमाउनु परेको छ, गति सिमित भएपछि दुर्घटना पनि कम हुने आशा छ ।’
सवारी दुर्घटनाको मुख्य कारण तिब्रगति पाइएपछि स्थानीयको आग्रह र सहयोगमा यस्तो नियम लागू गरिएको हो । गति सिमित गर्ने बारेमा सवारी धनी र चालकलाई समेत सुचित गर्ने काम भइरहेको भट्टराईले बताउनुभयो ।
अन्य कारणबाट समेत दुर्घटना हुनसक्ने भन्दै सचेत भइदिन स्थानीय र सवारी प्रयोगकर्तालाई पनि उहाँले आग्रह गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ र १८ कार्यालयको आर्थिक सहयोगमा दुर्घटना न्यूनीकरणको लागि सडकमा आवश्यक सूचना एवं जानकारी वोर्ड राख्ने तयारी गरिएको पनि भट्टराईले बताउनुभयो ।