कलैया,अत्याधिक चीसो र शीतलहरले बारामा गरिएको आलु खेतीमा असर परेको किसानहरुले बताएका छन् ।

शीतलहरले दलहन लगायतका बालीलाई फाइदा गरेपनि आलु बालीमा भने शीतलहरले नोक्सानी पुर्याएको किसानहरुले बताएका छन् । शीतलहरुले आलुको बोटमा ढुसी लागेको र पातहरु सुक्दै गएकोले उत्पादन घट्ने चिन्ताले किसानहरुलाइ पिरोलेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, फेटा गाँउपालिकालगायतका पालिकामा किसानहरुले व्यवसायिक रुपमा आलु खेती गर्दै आएका छन् । बाराको महागढीमाइ नगरपालिकाका किसान जयमंगल कुशवाहाले शीतलहरले ढुसी लागेर आलुको बोट सुक्दै गएको बताउनुभयो । कृषि विज्ञको सुझावमा विषाधि छर्किएपनि त्यसले सुधार नदेखिएको गुनासो उहाँले गर्नुभयो । उहाँले शीतलहरु अझै ६÷७ दिन निरन्तर रहे पुरै बाली सखाप हुने र खेतीमा गरिएको लगानी नै खेर जाने बताउनुभयो । सोही गाँउका अर्का किसान मुनिलालप्रसाद कुशवाहाले पनि यसपालीको शीतलहरले आलु बाली बिग्रिएको दुखेसो पोख्नु भयो ।

बाराकै फेटा गाउँपालिकका किसान नाजीर देवानले रोग किरा नलागेको अवस्थामा प्रतिकठ्ठा २ देखि तीन क्वीन्टल आलु उत्पादन हुने गरेको तर अहिले शीतलहरका कारण भने कठ्ठामा १ क्वीन्टल पनि फल्न मुस्किल देखिएको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले शीतलहरले असर पारेको आलु खेतीमा कृषि प्राविधिकको सुझावमा विषाधि छर्कन किसानहरुलाई सुझाव दिनुभयो । बारामा करिब ४ हजार हेक्टर क्षेत्रफलमा आलुको खेती हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here