निजगढ,आगामी आर्थिक वर्षबाट निजगढ नगरपालिकामा गाई श्रोत केन्द्र कार्यक्रम सञ्चालन हुने भएको छ। राष्ट्रिय गाई अनुसन्धान केन्द्र, रामपुर चितवनको वार्षिक कार्यक्रममा निजगढ गाई श्रोत केन्द्र पनि समावेश गरिएपछि आर्थिक वर्ष २०८२÷०८३ बाट निजगढ नगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्ने तयारी थालिएको हो।यसै सन्दर्भमा सोमवार बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवनका वैज्ञानिक डा. उद्धव पनेरु र डा. विष्णु के.सी.को विशेष उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा सहकारी संचालक समितिका पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका सदस्य तथा स्थानीय कृषकहरूकोसहभागिता रहेको थियो। सहभागीहरूलाई कार्यक्रम अन्तर्गत सञ्चालन गरिने पशु नस्ल सुधार र दुग्ध उत्पादन वृद्धि सम्बन्धी विषयमा जानकारी दिइएको थियो।हाल नवलपरासी, चितवन र मकवानपुरमा सञ्चालनमा रहेको गाई श्रोत केन्द्र कार्यक्रम मधेस प्रदेशमा पहिलो पटक निजगढमा सञ्चालन हुन लागेको हो। यस कार्यक्रमबाट पशु नस्ल सुधार गर्दै उन्नत जातका, धेरै दुग्ध उत्पादन गर्ने गाईको विकास गरिने अपेक्षा गरिएको छ।कार्यक्रमले निजगढको दुग्ध क्षेत्रको गुणात्मक विकासमा महत्वपूर्ण हुने विश्वास लिइएको छ।



















