वीरगन्ज,विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल ठोरी गाउँपालिकाका हरेराम खड्का र स्ट्याण्ड अप कमेडीमा विश्व किर्तिमान् राख्न सफल ठोरीकै उमेशकुमार गौतमलाई ठोरी गाउँपालिकाले सम्मान गरेको छ ।

ठोरीको नाम विश्वभरी फैलाउन मद्दत गरेको भन्दै सगरमाथा आरोही खड्का स्ट्यान्ड अप कमेडीमा गिनिज बूक अफ वर्ल्ड रेकर्ड बनाउन सफल गौतमलाई एक कार्यक्रमकाबीच खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ठोरी वडा नम्बर ५ सुवर्णपुरका खड्काले गत जेठ १८ गते संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

ट्रेकिङ गाइडलाई पेसाको रूपमा आङ्गाल्नु भएका खड्काले विदेशी तथा नेपालीहरुको करीब ३० जनाको समुहसंगै ५०÷५५ दिनभन्दा लामो समय लगाएर सगरमाथाको चुचुरोमा पाइला राख्नुभएको थियो । आरोही खड्काले सगरमाथाको चुचुरोमा ठोरी गापाको नाम अङ्कित ब्यानर फहराएको तस्वीरसहितको मायाको चिनो गापा अध्यक्ष पदमलाल श्रेष्ठलाई हस्तान्तरण समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष श्रेष्ठले सगरमाथा आरोहण गरेर ठोरीको नाम राख्न र कमेडी गरेर विश्व किर्तिमान राख्न सफल दुवै जनालाई बधाई दिदै सो कार्यको प्रशंसासमेत गर्नुभयो ।

कार्यक्रममा सगरमाथा आरोही खड्कालाई यस अघि नै ठोरी गापाले प्रदान गर्ने निर्णय गरेको रु २ लाख सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको थियो ।

गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, वडा अध्यक्षहरु सुर्यबहादुर लामा, बईबहादुर तामाङ र रामबहादुर पाख्रिन, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, विभिन्न सामाजिक संघसंस्थाका अगुवा एवम् सन्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा संयोजक भुपालकुमार जोशीले गर्नुभएको थियो ।

Leave a Reply