कृष्णउदास खनाल
हेटौंडा,हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने जाने बाटोको कर्रा खोला नजिकको बगरमा अहिले हिउँदमा लगाइएको मकै पाकेर काट्ने बेला भएको छ ।एक हप्ता आगाडिसम्म रेवती पहाडी(पोखरेल)ले यो पंतिकारलाई अब दुई हप्तामा रोपाई गर्नुपर्ला भनेर सुनाउदै हुनुहुन्थ्यो । खेतको बगर जस्तो स्थान तर निजी जग्गामा केही वर्षदेखि उहाँले आफ्नी जीवनसंगिनी मैया अनि छोरा सरोज र बुहारी रेणुको साथ लिएर हिउँद बर्खा दुबै सिजनमा विभिन्न बालीनाली लगाउदैआउनु भएको थियो ।

गत फागुनमा रोपिएको मकै यसपालि पाकेको हो र अब असारे धान लगाउने बेला भएको हो। अबको दुई हप्तापछि रोपाई गर्ने तयारीमा रहनुभएका रेवती विगत तीन दिनदेखि मुर्छा पर्नुभएको छ । हिउँदको खडेरीको समयमा रोपेको मकै बर्खामा पोलेर,उसिनेर अनि भुटेर खाने मैया, सरोज र रेणुकाको सपना सदाका लागि अन्त्य भएको छ ।हो, गत शनीवार हेटौंडाबाट चितवन जाने क्रममा चितवनको राप्ती नगरपालिकामा भएको भयानक दुर्घटनामा जीवन लिला समाप्त भएका परिवारका सदस्यहरुको कुरा हो,यो ।
घर, हेटौंडा ५ मा भएपनि यो परिवारले हेटौंडा ८मा रहेको त्यही जग्गामा खनजोत गरेर मरुभूमि जस्तो स्थानलाई हराभरा बनाएको थियो । तर, अहिले पाकेको मकैले घरवला खोजिरहेको छ तर घरवला अचेत अवस्थामा रहेका छन् ।
निकै मेहनति पहाडी परिवारको अवसानले आफू समेत निकै स्तब्ध भएको रेवतीका छिमेकीहरुले बताएका छन । बिहान बिहानै मैयासहित बुहारी रेणुका आएर कति पटक काम गरेको देखेको हो, धेरै मेनहति हुनुहुन्थ्यो संधियारबारे जीवन अधिकारीले सम्झना गर्नुभयो ।रेवतीको एक मात्र छोरा,बुहारी र पत्नीको सो दुर्घटनामा परेर ज्यान गएपछि रेवतीको घर तिर मात्र होइन जग्गातिरका छिमेकीहरु पनि स्तव्ध भएका छन् । स्थानीयहरुमा अनुसार, सो दिन रेणुका गर्भमा रहेको आप्नो बच्चालाई जन्म दिनका लागि सासु मैया र पति सरोजसंगै चितवन अस्पतालमा जान लागेका थिए । घटनाको भोलिपल्ट आइतवार शल्यक्रिया गरेर बच्चा जन्माउने भनेर चिकित्सकले समय दिएका कारण उनीहरुले चितवन गएका हुन । तर उनीहरु अस्पताल पुग्न नै पाएनन् ।
अस्पतालमाथि आक्रोश
हेटौंडामा राम्रो अस्पताल नभएको र भएको एउटा अस्पताल पनि राजनीति गर्ने थलो बनाइएको भन्दै हेटौंडाका नागरिक समाजदेखि संचारकर्मीहरुले हेटौंडा अस्पतालप्रति आक्रोश पोखेका छन् ।उनीहरुले चितवन घटना हेटौंडामा भएको हेटौंडा अस्पतालले गुणस्तीय सेवा दिन नसकेका कारण पनि यो घटना भएको भन्दै विरोध जनाएका छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नाउँमा अस्पताल संचालनमा रहेपनि सेवा सुविधा नभएका कारण रेणुका चितवन जान बाध्य भएको र यस्तो घटना हुन पुगेको भन्दै आक्रोश पोखेका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका अध्यक्ष भीमसागर गुरागाईभने हेटौंडा अस्पतालमा प्रसुतिदेखि नवजात शिशुको समेत निःशुल्क सेवा रहेका कारण गर्भवतिका लागि चितवन वा अन्य ठाउँमा जानुपर्ने बाध्यता नरहेको बताउनुहुन्छ ।पहाडी परिवार अस्पताल नआएका कारण सेवा सुविधा बारे जानकारी नभएको हुनसक्ने उहाँको भनाई थियो । हेटौंडा अस्पताललाई विश्वास गर्न आवश्यक रहेको र अहिले अस्पताल धेरै हिसावले सुधारमा रहेको पनि उहाँको दाबी छ ।



















